काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनु पर्ने बताएका छन् ।
कांग्रेस तनहुँले सोमबार आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रको विकल्प नभएको दाबी गरेका हुन् ।
सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए । देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको बताए ।
उनले भने, ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ, तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।’ उनले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानु परेको दाबी गरे ।
उनले भने, ‘संविधान समावेशी छ, संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन, गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ ।’