जसले करोडौँ खर्चेर विद्यालय निर्माण गरिदिए-Sutra News

जसले करोडौँ खर्चेर विद्यालय निर्माण गरिदिए

मंगलबार, १० पौस २०८०

मंगलबार, १० पौस २०८०

भोजपुर । लाहुरमा कमाएको रकम खर्चेर समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरिएका छन् ।



राईले पौवादुङमा गाउँपालिका-२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि एक करोड ३९ लाखको लगानीमा भवन निर्माण गरिएका हुन् । उनले विद्यालयको नयाँ छ कोठे भवन निर्माण गरी सोमबार हस्तान्तरण गरेका छन् ।

पूर्व ब्रिटिश आर्मी राईले विद्यालयको भौतिक संरचना जीर्ण देखेकाले आफ्नै ठाउँमा केही गरौँ भन्ने भावनाका साथ विद्यालय निर्माण गरेको बताए ।

‘मैले स्वास्थ्य संस्था बनाउने विचार गरेको थिएँ, तर स्वास्थ्य चौकी बनिसकेको रहेछ, त्यसपछि विद्यालय भवन जीर्ण देखेपछि शैक्षिक गुणस्तरमा समेत टेवा पुग्ने देखेर भवन निर्माण गरेको हुँ’ उनले भने । सत्तरी वर्षका राईले विद्यालय भवन मात्र नभई विद्यार्थी खेल्ने ठाउँसमेत बनाइदिएका छन् ।

गाउँपालिकाका अध्यक्ष किरण राईले आफू जन्मे हुर्केको ठाउँमा कृष्णबहादुरले गरेको काम प्रशंसनीय भएको बताए । अध्यक्ष राईले भने, ‘गाउँको विकास गर्नु पर्छ भन्ने भावनाका साथ कृष्णबहादुरले विद्यालयका लागि पक्की भवन बनाएर कीर्ति कायम गर्नु भएको छ ।’

नवनिर्मित छ कोठे पक्की भवन र विद्यालयको खेल मैदानमा नै खेल्ने सामग्री पाउँदा विद्यार्थी दंग भएका छन् । बसाइँसराइ, जन्मान्तरलगायतका कारण हरेक वर्ष विद्यार्थी घट्दै गएको अवस्थामा गुणस्तरीय शिक्षाका लागि बनेको भवनले मद्दत पुग्ने विद्यालयका प्रधानाध्यापक चन्द्र बोगटीले बताए ।

नवनिर्मित भवनको पञ्चकन्यासहित निर्माणकर्ता कृष्णबहादुर र गाउँपालिकाका अध्यक्ष राईले सोमबार नै उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट