श्रीलंका टापु जोड्ने झोलुङ्गे पुल बन्ने-Sutra News

श्रीलंका टापु जोड्ने झोलुङ्गे पुल बन्ने

मंगलबार, १० पौस २०८०

मंगलबार, १० पौस २०८०

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलंका टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ ।



नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ । संघीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक यति लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताए ।

पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अन्तिम चरणमा पुगेको उनको भनाइ थियो । उनका अनुसार सुनसरी क्षेत्र नं ४ का संघीय सांसद तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुल योजनामा पारेका हुन् ।

झोलुङ्गे पुल सर्भेका लागि ऋषिकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौंले डीपीआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको योजनाका सबइञ्जिनियर रञ्जितकुमार यादवले जानकारी दिए ।

सबइञ्जिनियर यादवले डीपीआरको डिजाइन तयार भइरहेको भन्दै डिजाइन सकिएलगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बताए । नमुना झोलुङ्गे पुल नामकरण गरी गत आर्थिक वर्षमा पुलको स्थलगत अध्ययन र निरीक्षण भएको थियो ।

बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलंका टापु क्षेत्रमा पर्दछ । उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ । श्रीलंका टापुमा चार हजार पाँच सय घर धुरीका १० हजार बढीको बसोबास रहेको बराहक्षेत्र–६ का वडाध्यक्ष उद्ववप्रसाद पोखरेलले बताए ।

श्रीलंका टापु क्षेत्र उर्वर बलौटे, दोमट माटो भएकाले तरकारी र अन्न उत्पादनका लागि राम्रो मानिँदै आएको छ । झोलुङ्गे पुल बनेपछि टापुबासीले उत्पादन गरेका कृषि उत्पादन बजार लान सहज हुने र उनीहरूको जीवनयापनमा सहजता आउने वडाध्यक्ष पोखरेलले बताए ।

जिल्ला सदरमुकाम इनरुवाबाट झण्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्ने टापुमा वर्षौंदेखि कृषि र पशुपालन गरेर टप्पुबासीले जीविका चलाउँदै आएका छन् । चारैतिर नदी भएकाले टापुवासी यातायातको साधनका रूपमा डुङ्गाको प्रयोग गर्दै आइरहेका छन् ।

वर्षायाममा सप्तकोशीमा पानीको बहाब बढ्ने भएकाले डुंगाबाट यात्रा गर्दा बर्सेनि कयौँको ज्यान जाने गरेको स्थानीयबासी सन्तोष चन्द्रवंशीले बताए । श्रीलंका टापुलाई जोड्ने झोलुङ्गे पुलको निर्माण हुने भएपछि आवागमनमा सहजता हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट