८० को दशक तीव्र विकासको दशक : प्रधानमन्त्री-Sutra News

८० को दशक तीव्र विकासको दशक : प्रधानमन्त्री

मंगलबार, १० पौस २०८०

मंगलबार, १० पौस २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० को दशक तीव्र विकासको दशक हुने बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै उनले नागरिकले महसुस गर्ने गरी विकास गरिने बताए ।



‘यस वर्ष ७७६ दशमलव ६१ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ भने ५८७ दशमलव ५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ, यसै अवधिमा १८१ दशमलव २९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलिएको छ,’ उनले भने, ‘थप एक लाख ६२ हजार सुरक्षित आवास निर्माण गरी लाभग्राहीलाई उपलब्ध गराइएको छ, यो आँकडाले अघिल्ला वर्षहरूभन्दा प्रगति त देखाउला तर म सन्तुष्ट छैन ।’

नारायणगढ-बुटवल खण्ड वा मुग्लिन-पोखरा खण्डकै उदाहरण लिनु पर्नेमा जोड दिँदै प्रधानमन्त्ती दाहालले भने, ‘जनताले बाटो भत्केको व्याख्या गरिरहेका छन्, जबकि बाटो त बनिरहेको छ, समयमा आयोजनाहरू पूरा नहुँदा यस्तो नकारात्मक भाष्यमात्र बनेको छैन, लागत बढेको छ, जनताले ठूलो सास्ती खेप्नु परेको छ ।’

अब पूर्वाधारमा कम्तीमा दुई ‘सिफ्ट’को प्रत्याभूति हुने र सकेसम्म ‘ब्यारेक मोडल’मा लैजाने गरी मैले नीतिगत र व्यावहारिक छलफल गरिरहेको स्पष्ट गर्दै उनले थपे, ‘८० को दशक तीव्र विकासको दशक’ भन्ने संकल्पसँगै पूर्वाधारमा देशले नयाँ ढंगले फड्को मार्नै पर्छ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा अहिले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट