काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ पुगेका छन् । बुधबार बिहान १० बजे राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमार्फत बागलुङ पुगेका हुन् ।
बागलुङ नगरपालिका-४ उपल्लाचौरस्थित नेपाली सेनाको गणमा पौडेल अवतरण भएपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए । राष्ट्रपति पौडेल सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ पुगेका हुन् ।
यस अवसरमा बागलुङ कालिका मन्दिरको दर्शन गर्नुका साथै पूर्जाअर्चना गर्ने छन् । मन्दिरको दर्शनलगत्तै बागलुङ नगरपालिका-४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।
कोरोना संक्रमणका कारण अघिल्लो पटक हुन नपाएको महोत्सव चार वर्षपछि हुन लागेको हो । यस अघि विं.सं. २०७६ मा महोत्सव भएको थियो ।
महोत्सव पुस २१ गतेसम्म चल्ने अध्यक्ष कँडेलको भनाइ छ । महोत्सवमा १२० भन्दा बढी कक्ष रहने छन् । महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने अनुमान छ ।