काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून छिटो निर्माण गर्नु पर्नेमा जोड दिएको छ ।
बैठक सकिएपछि पत्रकारसँग कुराकानी गर्दै जनता समावादी पार्टी (जसपा)का नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रदेशलाई अधिकार दिन अध्यादेशबाटै भए पनि कानून कार्यान्वयन गर्न मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।
‘संघीयता, गणतन्त्र, धर्म निरपेक्षताविरुद्ध विविध शक्ति लागेका छन्, संघीयतालाई कार्यान्वयन गर्न सरकार अग्रसर भएर लाग्नु पर्छ, प्रदेशलाई अधिकार नदिँदा जनतालाई प्रदेश सरकार बोझ हो कि भन्ने परेको छ,’ उनले भने, ‘संविधानमै भएको व्यवस्थालाई आठ वर्षसम्म कार्यान्वयन गर्न नसक्नु कमजोरी हो, अध्यादेशबाटै भए पनि कार्यान्वयन गर्न मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।’
बैठकमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामाथि बढ्दो रुपमा प्रश्नहरू उठिरहेकाबारे नेताहरूले चिन्ता व्यक्त गरेको उनको भनाइ थियो ।
समाजवादी मोर्चालाई प्रदेश स्तरमा जनताको उत्साहपूर्ण सहयोग रहेको उल्लेख गर्दै श्रेष्ठले यसलाई थप निरन्तरता दिनु पर्ने सुझाव आएको पनि बताए ।