काठमाडौं । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीलाई कमजोर नठान्न चेतावनी दिएका छन् । बुधवार सुरु भएको सो पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्ताे चेतावनी दिएका हुन् ।
‘अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा पहिलो स्थानमा छैन्, तर हाम्रो पार्टीको हैसियत कमजोर पनि छैन, कमजोर नठान्नुहोस्, प्रत्यक्ष निर्वाचनबाट १० सिट ल्याउने कुरा सानो हैन,’ अध्यक्ष नेपालले भने ।
नेकपा एमालेलाई लक्षित गर्दै उनले समयमा बुद्धि नपुर्याए ठूलो धक्का खानु पर्ने अवस्था आउने बताए । उनले संविधान जोगाउनका लागि आफूहरुले विगतमा एमालेभित्रैबाट बिद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको जिकिर समेत गरे ।
एक अर्काे प्रसङ्गमा बाेल्दै अध्यक्ष नेपालले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढ्नका लागि समाजवादी मोर्चामा आवद्ध सबै दलहरु एकतावद्ध भएर अघि बढ्न सहमत रहेको दाबी समेत गरे । समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँभित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल भित्र्याएको र त्यसको समाधानका लागि मोर्चामा आवद्ध सबै दलहरु एकभएर अघि बढन सहमत रहेको अध्यक्ष नेपालले बताए ।
अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी जोगाउने भन्ने बारेमा पनि समाजवादी मोर्चाभित्र छलफल सुरु गरिएको बताए ।