काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक अभाव नहुने बताएका छन् ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बुधबार गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चिता गरिसकेको दाबी गरे ।
‘बूढीगण्डकी आयोजना के होला ? कसो होला ? भन्ने भइरहेको थियो,’ उनले भने, ‘केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना गरिएको छ ।’
एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजना निर्माण छिट्टै अघि बढ्ने उनले बताए । ‘यो आयोजनाबाट भविष्यसम्म पनि गोरखा र गोर्खाली जनताको आर्थिक विकास र सम्बृद्धिका निम्ति तथा रोजगारीको अवसर पनि हुन्छ,’ उनले थपे ।
गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद रहेका प्रधानमन्त्री दाहालले निर्वाचनका बेला आफूले जनता समक्ष गरेको प्रतिबद्धता नबिर्सिएको उल्लेख गरे ।
उनले गोरखाको देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योग निर्माण गर्नका लागि छलफल अगाडि बढाइसकेको दाबी गरेका थिए ।