काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेर गएको बताएका हुन् ।
उनले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गरे ।
सामाजिक सञ्जालमा नकारात्मक कुरा भए पनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो । हरेक क्षेत्रको आर्थिक गतिविधि बढेकाले मुलुकको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको उनको तर्क छ ।
अर्थमन्त्री महतले तथ्यलाई लिएर सकारात्मक छलफललाई अघि बढाउने हो भने मुलुकको आर्थिक गतिविधिले अझ बढावा पाउने बताए ।