मन्त्री मात्रै होइन, सरकारकै विकल्प खोज्नुपर्ने माग-Sutra News

मन्त्री मात्रै होइन, सरकारकै विकल्प खोज्नुपर्ने माग

आइतबार, १५ पौस २०८०

आइतबार, १५ पौस २०८०

काठमाडौं । गठबन्धन सरकारको कामकारबाहीलाई लिएर मुख्य सत्ता साझेदार नेपाली कांग्रेसभित्र तिव्र असन्तुष्टि देखिएको छ । पुस १२ देखि १४ गतेसम्म सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरुले सरकारको खुलेर आलोचना गरेका छन् ।



बैठकमा बोलेका मन्त्री बाहेकका नेताहरुले सरकारको आलोचना गरेका थिए । बैठकमा कतिपय नेताले विकल्पको पनि चर्चा गरेका छन् ।

बैठकमा बोल्दै महामन्त्री गगन थापाले अहिलेकै शैलीमा सरकार चल्ने हो भने मन्त्री मात्रै नभएर प्रधानमन्त्रीसमेत बदल्नुपर्ने धारणा राखेका थिए । “कांग्रेसका मन्त्रीहरूले मात्रै राम्रो काम नगरेका हुन् कि गठबन्धनका अरू मन्त्री र प्रधानमन्त्रीले पनि राम्रो काम गर्न नसकेको हो ?”, थापाको प्रश्न छ, “प्रधानमन्त्रीले पनि राम्रो काम गर्न सक्नुभएको देखिन्न, यस्तै काम गर्दै जाने हो भने मन्त्री मात्रै होइन, प्रधानमन्त्री फेर्ने हैसियत पनि कांग्रेसले राख्छ ।”

नेता प्रदिप पौडेलले आठ महिनासम्म सरकारमा बस्दा जनतालाई दिने जवाफ कांग्रेससँग नभएको बताएका थिए । “जनता र कार्यकर्तालाई भन्ने विषय नै छैन, हामी पनि सरकारमा छौं”, पौडेलको प्रश्न छ, पौडेलको प्रश्न छ, “सरकार र नेतृत्वको प्रतिरक्षा मात्रै गर्ने हो ?”

उनले कांग्रेसप्रति जनतामा तिव्र असन्तुष्टि रहेको बताएका थिए । कांग्रेसलाई भ्रष्ट पार्टीको रुपमा चित्रित गरिएको भन्दै पौडेलले जवाफ कसरी दिने भन्ने प्रश्न उठाएका थिए ।

“जनतालाई चाहिएको सुशासन हो, भ्रष्टाचार अन्त्य हो, तर बिडम्बना जनताले हामीलाई भ्रष्टाचारमा मुछिएको पार्टी भनेर बुझ्छन्, जनतामा निराशा छ, आक्रोश देखिन्छ”, उनले भनेका थिए ।

बैठकमा बोल्दै अर्का केन्द्रीय सदस्य रमेश लेखकले सरकार र मन्त्री नभएर काम गर्ने शैली परिवर्तन गर्न आवश्यक भएको बताएका थिए । मन्त्रीहरूले जस्तोसुकै तथ्यांक दिए पनि व्यवहारमा सुधारको संकेत नआउँदासम्म त्यसको प्रभाव नपर्ने उनको तर्क थियो । तथापि, गठबन्धनको विकल्प खोज्ने स्थिति नभएको उनले बताएका थिए ।

“सरकारबाट सबै कुरा ठिकै भएको छ, केही बिग्रेको छैन भन्ने एउटा दृष्टिकोण छ, अर्कोतर्फ केही पनि भएको छैन भन्ने छ। तर यो दुवै कुरा अतिवाद हो”, लेखकले भनेका थिए, “अहिले गठबन्धनको विकल्प छैन। यसैलाई प्रभावकारी र क्रियाशील बनाएर लैजाऔं ।”

सरकारले धेरै काम गर्न बाँकी रहेको बताएका थिए । चाहेअनुसार काम नभएको भन्ने कुराचाहिँ सत्य रहेको उनको भनाइ छ।

तर, नेतृत्वबाट थामथुम जवाफ

तीन दिनसम्म चलेको बैठकमा सयभन्दा बढी केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले धारणा राखेका थिए । बैठकमा अधिकांशले सरकारकै आलोचनामा समय खर्चिएका थिए । बैठकमा सरकारकै विकल्पै खोज्ने गरी पनि नेताहरुले भनाई राखेका थिए ।

यद्यपि, सरकारमा सहभागि मन्त्रीले सरकारको कामको उदाहरणीयरुपमा भइरहेको भनेर चर्चा गरे भने पार्टी सभापति शेरबहादुर देउवाले थामथुम जवाफ दिए ।

उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सरकारले ठिकै काम गरिरहेको दाबी गरेका थिए। “केही पनि काम भएन भन्ने भास्य पनि गलत हो”, उनले भनेका थिए, “मन्त्रीहरूले ठिकै काम गरिरहनुभएको छ। कुनै काण्डमा फस्नुभएको छैन ।”

बैठकमा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि सरकारले जनतामा आशा जगाएको बताएका थिए । अर्थतन्त्रका सूचकहरू सकारात्मक छन् भनेर अर्थमन्त्री प्रकाशशरण महतले दाबी गरेका थिए।

पार्टी सभापति शेरबहादुर देउवा राष्ट्रियसभा निर्वाचन र पार्टीको महासमिति बैठकअघि सरकारबारे कुनै पनि निर्णय गर्न तयार देखिएनन् । जसको कारण बैठकले कुनै निर्णय भने लिन सकेन । यद्यपि, बैठकले मन्त्रीहरूलाई थप प्रभावकारी काम गर्न निर्देशन दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट