युद्धको तयारी गर्न कोरियाली नेता किम जोङको निर्देशन-Sutra News

युद्धको तयारी गर्न कोरियाली नेता किम जोङको निर्देशन

आइतबार, १५ पौस २०८०

आइतबार, १५ पौस २०८०

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ बताएका छन् ।



यसैबीच नेता किमले युद्धको तयारीका लागि सैन्य तयारी गर्न आदेश दिएर वर्षको अन्त्य गरेको उत्तर कोरियाली सरकारी सञ्चार माध्यमले आइतबार जनाएका छन् ।

नेता किमले सन् २०२४ का लागि आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा संयुक्त राज्य अमेरिकाको आलोचना गरेका थिए ।

बैठकले आगामी वर्षमा थप तीन वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने, मानवरहित ड्रोन निर्माण गर्ने र इलेक्ट्रोनिक युद्ध क्षमता विकास गर्ने, साथै आणविक र क्षेप्यास्त्र बललाई सुदृढ पार्ने लगायत थप सैन्य विकासको योजना घोषणा गरेको ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)’ ले जनाएको छ ।

प्योङयाङले यसै वर्ष सफलतापूर्वक टोही उपग्रह प्रक्षेपण गरी आफ्नो संविधानमा आणविक शक्तिको रूपमा आफ्नो स्थान स्थापित गरेको घोषणा गरेको छ ।

उत्तर कोरियाले आफ्नो शस्त्रागारमा सबैभन्दा उन्नत अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम)को परीक्षण गरेको छ ।

केसीएनएका अनुसार शनिबार सम्पन्न बैठकमा किमले संयुक्त राज्य अमेरिकाले ‘विभिन्न प्रकारका सैन्य खतरा’ खडा गरेको आरोप लगाएका थिए । यसैबीच आफ्नो सेनालाई ‘युद्ध प्रतिक्रियाका लागि अत्यधिक क्षमता’ कायम राख्न आदेश दिए ।

यसअघि उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यासमा वासिङ्टनका बी–५२ बम वर्षकजस्ता रणनीतिक हतियार तैनाथ गर्नुलाई ‘जानाजानी आणविक युद्ध उत्तेजक कदम’ को संज्ञा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट