काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतबारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तला खेती सुरु गरिन् ।
धान उत्पादन राम्रो नहुने भएर जग्गा बाँझो भएपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा बनाएकी हुन् ।
घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत नभएकाले उनले गरगहना बेचेर दैनिक ज्यालादारीमा मजदुर परिचालन गरी खेतमा खाडल खन्ने र सुन्तला लगाएको बताइन् ।
सुन बचेर सुन्तला खेती सुरु गरेकी ६८ वर्षीय हुमेनको परिवारको जीवनस्तर अहिले सुन्तला खेतीबाटै फेरिएको छ । ‘सुन बेचेर सुन्तला लगाएको थिएँ, सुन्तलाले सुनै फलाए जस्तो भयो मलाई, सुन्तलाकै आम्दानीले बेचेको सुन पनि फर्काएँ, यसैको आम्दानीबाट घरखर्च सहजै चलेको छ,’ हुमेनले भनिन् ।
अहिले सबै परिवारको मुख्य आम्दानीको स्रोत सुन्तला खेती रहेको उनको भनाइ छ । कान्छो छोरासँगै बस्दै आएकी उनी र उनका दुई छोराको सुन्तला बगैँचामा अहिले करिब चार सय बढी बोट रहेका छन् ।
हरेक वर्ष आठदेखि १० लाखसम्म सुन्तला बिक्री हुने गरेको हुमेन परिवारको भनाइ छ । ‘खेतमा धान राम्रो फल्ने थिएन, एक नातेदारले सुन्तला लगाउन सल्लाह दिएका थिए, उनले पनि खेतबारीमा सुन्तला खेती लगाएको देखेर, मैले पनि लगाएको हुँ,’ उनले थपिन् ।
यहाँका बास्कुना, सुर्केमेला र थामडाँडाका ४० घर धुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । सबै घरमा व्यावसायिक सुन्तला खेतीको लहर चलेको छ ।
उत्पादन भएको सुन्तला बगैँचाबाटै बिक्री हुने गरेको छ । पोखरा र काठमाडौंको व्यवसायी यहाँका सुन्तला बगैँचामा पुगेर खरिद गर्छन् ।
सुन्तला फल्न थालेको सुरुवाती चरणमा पोखरा र काठमाडौंसम्म आफैले ढुवानी गरेर बिक्री गर्नु परे पनि पछिल्लो समय बगैँचाबाट खरिद गर्न थालेका छन् ।
गतवर्ष प्रतिकिलो ७२ रुपैयाँमा सुन्तला बिक्री गरेकामा यो वर्ष प्रतिकिलो ८० रुपैयाँ मूल्य पाएको किसान कार्कीले जानकारी दिए ।