छोरीको स्मृतिमा विद्यालयलाई साढे २० लाख हस्तान्तरण-Sutra News

छोरीको स्मृतिमा विद्यालयलाई साढे २० लाख हस्तान्तरण

मंगलबार, १७ पौस २०८०

मंगलबार, १७ पौस २०८०

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकामा रहेको विद्यालयमा एक दम्पतीले २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् ।



देवचुली-७ रामबासका तीर्थराज न्यौपाने र भवानी न्यौपानेले स्थानीय भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा ‘शर्मिला न्यौपाने (गुलाटी) स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् ।

न्यौपाने दम्पतीले आफ्नी स्वर्गीय छोरी शर्मिला न्यौपानेको स्मृतिमा २० लाख ५५५ को अक्षयकोष स्थापना गरी सोमबार विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछाने र प्रधानाध्यापक अग्निधर भुसाललाई न्यौपाने दम्पतीले संयुक्त रूपमा उक्त रकमको चेक प्रदान गरेका थिए ।

गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेर रकम हस्तान्तरण गरेको न्यौपाने दम्पतीको भनाइ थियो ।

आर्थिक अभावमा बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको भन्दै उनीहरूले कोषलाई सही रूपमा प्रयोग गर्न विद्यालय परिवारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट