काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा युवाहरू चाँडो सम्पत्ति कमाउने मोहमा अगाडि बढेकाले चुनौती भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस)मा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘देशभित्र भविष्य नदेख्ने बाध्यात्मक परिस्थिति एक ठाउँमा छ, तर देशभित्रै रोजगारीको अवसर प्राप्त गरेका र सामाजिक रुपमा प्रतिष्ठित व्यक्तिहरू शीघ्र सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै गएको छ,’ उनले भने, ‘यो चाहिँ हाम्रा निम्ति साँच्चिकै चुनौतीको विषय हो ।’
यस्तै, उनले शिक्षालगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको बताए ।
उनले भने, ‘भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि परिरहेको छ, त्यसमध्ये पनि नेपाल जस्ता विकासशील देशहरूमा यसको बहुआयमिक प्रभाव चुनौतीकै रूपमा विद्यमान छ ।’