काठमाडौं । संघीय सरकारसँगको टोसलोपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो आफ्नो कार्यकक्षबाट हटाए । उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटोको ठाउँमा किराँती प्रथम राजा (यलम्बर)को फोटो टाँगे ।
संघीय सरकारलाई चुनौति दिनेगरी उनले गरेको यस्तो कदमपछि धरानमा विवाद चर्किएको छ । स्वतन्त्र सांसद साम्पाङ्गको कदमलाई लिएर राजनीतिक दलहरु एक ठाउँमा उभिएका छन् । दलहरुले साम्पाङ्ग सच्चिनुपर्ने माग गरेका छन् ।
तर, आफ्नो कदमविरुद्ध दलहरु एक ठाउँमा उभिएपछि साम्पाङ्गले भने उल्टै स्वतन्त्र राज्य घोषणा गर्ने धम्की दिन थालेका छन् । “जाइलाग्दिन, आइलागे नसोंचेको परिणाम देखाइदिनेछु”, विरोधपछि चेतावनीपूर्ण भाषामा साम्पाङ्गले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
एकपछि अर्को गर्दै साम्पाङ्ग अराजक बनिरहेका बेला धरानमा दलहरु पनि आक्रामक शैलीमा देखिन थालेका छन् । मंगलबार दलहरुले बलजफ्तीरुपमै राजा यलम्बरको फोटो हटाउने प्रयास गरेका थिए । दलहरुको त्यस्तो प्रयासपछि उपमहानगर परिसरमा तनाव बढेको छ ।
पछि नहट्ने अडानमा साम्पाङ्ग
विरोध चर्किंदै गएपनि मेयर साम्पाङ्ग भने पछि नहट्ने सोंचमा देखिएका छन् । उनले आफ्नो कदम संघीय सरकारका विरुद्ध भएको बताएका छन् । संघीय सरकारले धरानलाई गरेको ‘हेपाहा’ व्यवहारको विरुद्ध आफूले आन्दोलन थालेको साम्पाङ्गको भनाई छ ।
“मेरो स्वभिमान एक रति तलमाथि गर्दिनँ, तर धरानलाई हेला गर्नु भएन नि, नगर प्रमुख भएर यत्तिको अडान लिनुपर्छ भन्ने छ मलाई”, उनले भनेका छन्, “धरानमा कोही नआउने ? कहिलेकाहीँ हाम्रो शिक्षा मन्त्री आउनु हुन्छ तर, नगरमा आउनु हुन्न ।”
उनले पछिल्लो कदम आफ्नो आन्दोलन भएको बताउँदै यही कारण हटाए पदबाट हट्न तयार रहेको पनि बताएका छन् । “मेरो मौन आन्दोलन हो, यो आन्दोलनमा यहाँहरूले मलाई साथ दिनुपर्छ भन्ने ठान्छु तर, व्यवस्था नमान्ने भन्ने होइन”, उनले भनेका छन्, “मैले उहाँहरूको फोटो हटाएवापत यस्तो कुनै कानूनी एक्सन लिएर पदबाट हटाए भने पनि मलाई केही छैन ।”
पछिल्लो समय मेयर साम्पाङ्गले धरानमा विमानस्थलको माग गर्दै आएका छन् । तर, उनको मागमा संघीय सरकार सकारात्मक देखिएको छैन । जसको विरोधस्वरुप उनले पछिल्लो कदम चालेको देखिन्छ ।
यद्यपि, पछिल्लो कदमका कारण उनी आफैं आफ्नै समूहबाट एक्लिन त थालेको होइन भन्ने प्रश्न उब्जिएको छ ।