कहाँ पुग्यो मन्त्रीपरिषद् पुनर्गठनको तयारी ?-Sutra News

कहाँ पुग्यो मन्त्रीपरिषद् पुनर्गठनको तयारी ?

मंगलबार, १७ पौस २०८०

मंगलबार, १७ पौस २०८०

काठमाडौं । झण्डै महिना दिनदेखि मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको छ । स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सोसम्बन्धमा सार्वजनिकरूपमै अभिव्यक्ति दिएका थिए ।



स्वयम् माओवादी केन्द्रका नेताहरुले पनि सरकारको एक वर्षे कार्यकाल पूरा भएको समयमा मन्त्रिपरिषद् पुनर्गठन गरिने बताएका थिए । तर, व्यापक चर्चा भएपनि मन्त्रिपरिषद् पुनर्गठनको विषय समय घर्किदैं जाँदा विस्तारै सेलाउँदै जान थालेको छ ।

नेताहरुले बताएअनुसार राष्ट्रिय सभा निर्वाचनसम्मको लागि पुनर्गठनको विषय थाँती बनाइएको छ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटा मन्त्रिपरिषद् पुनर्गठनको सम्बन्धमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकिएको बताउँछन् ।

मन्त्रिपरिषद् पुनर्गठन गरेर भएपनि प्रधानमन्त्रीले जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी काम गर्न चाहेको तर, साझेदार दलहरुबीच ठोस सहमति बन्न नसकेको उनले बताए । “मन्त्रिपरिषद् फेरबदल गरेर भएपनि जनताको प्रत्यक्ष प्रभाव हुनेगरी काम गर्छु भनेर प्रधानमन्त्रीज्यूले नै भन्नुभएको छ । यस विषयमा गठबन्धन दलहरूबिच छलफल भएको छ”, मंगलबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा भने, “तर निष्कर्षमा पुगेको छैन ।”

सापकोटाले बताएअनुसार प्रधानमन्त्री मन्त्रिपरिषद् पुनर्गठनका लागि इच्छुक र तयार छन् तर, अन्य सत्ता साझेदारभित्र सहमति नबन्दा रोकिएको छ ।

विशेषगरी प्रधानमन्त्रीले कार्यसम्पादन तथा मूल्यांकनका आधारमा कमजोर भएकाको विकल्प खोज्ने बताएका थिए । तर, सो विकल्प खोज्दा आफ्नो पार्टीभित्र सम्भव भएपनि कांग्रेससहित अन्य दलभित्र विवाद उत्पन्न हुने अवस्था विद्यमान छ । राष्ट्रियसभा निर्वाचन र महासमिति बैठकलाई ध्यानमा राख्दै कांग्रेस तत्काल फेरबदलको पक्षमा देखिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट