राष्ट्रियसभामा एमालेलाई समेट्न कांग्रेस–माओवादी सहमत, संख्या टुंग्याउन बैठक बोलाइँदै-Sutra News

राष्ट्रियसभामा एमालेलाई समेट्न कांग्रेस–माओवादी सहमत, संख्या टुंग्याउन बैठक बोलाइँदै

बुधबार, १८ पौस २०८०

बुधबार, १८ पौस २०८०

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई पनि समेट्न सत्ता गठबन्धनका मुख्य दल नेपाली कांग्रेस र माओवादी केन्द्र सहमत भएका छन् । मंगलबार र बुधबार बिहान बसेको कांग्रेस र माओवादी बैठकले एमालेलाई साथै लिएर जाने निर्णय गरेको हो ।



माओवादी केन्द्रका एक नेताले बताएअनुसार सिट संख्याको विषयमा भने निर्णय भइसकेको छैन । “राष्ट्रियसभामा एमालेलाई पनि समेट्नुपर्छ भन्ने कुरामा दुई दलबीच सहमति बनेको छ तर, अन्य साझेदारबीच छलफलको आवश्यता देखिएको छ”, ति नेताले भनेका छन्, “आजै अन्यसँग छलफल गरेर टुंग्याउने तयारी छ ।”

दुई दलको छलफलमा १९ सिटमध्ये एमालेलाई तीनदेखि चार सिट दिन सकिने प्रस्ताव आएको ती नेताले बताए । सत्ता साझेदारबीच सहमति टुंग्याएर एमालेसँग आजै छलफल गर्ने दुई दलको तयारी रहेको ती नेताले बताए ।

ती नेताले बताएअनुसार दिउँसो ३ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको छ भने साँझ ५ बजेका लागि गठबन्धन र एमालेबीचको बैठक बोलाइएको छ ।

आगामी फागुन २० मा राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल सकिँदैछ । त्यसका लागि माघ ११ मा निर्वाचन हुँदैछ ।

१९ सदस्यमध्ये एमालेबाट ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र १ छन् ।

मतभारको हिसाबले मधेशबाहेकका प्रदेश कांग्रेस र माओवादी मिल्दा सहज बहुमत पुग्छ । तथापि, दुई दल सबैलाई समेटेर जाने तयारीमा देखिएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा सातैवटै प्रदेशका ५५० प्रदेशसभा सदस्य र ७५३ स्थानीय तहका १५०६ प्रमुख तथा उपप्रमुख मतदाता रहन्छन् । नयाँ मतभारअनुसार मधेश बाहेकमा माओवादी केन्द्र निर्णायक छ । मधेश बाहेकमा कांग्रेस र माओवादी मिलेमात्रै पनि बहुमत पुग्छ । अहिलेको गठबन्धन मिलेर जाँदा सबैमा एकलौटी बहुमत हुन्छ ।

यसअघि संसदीय समितिमा पनि दलहरुबीच भागवण्डा भएको थियो । संसद बहुमत भएपनि गठबन्धनले एमाले र राप्रपालाई पनि भागवण्डामा समेटेको थियो । प्रतिनिधिसभाको १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखासहित २ वटा समितिको सभापति पाएको थियो भने राप्रपाले पूर्वाधार विकास समितिको सभापति पाएको थियो । यद्यपि, राष्ट्रिय सभामा भने एमालेबाहेकलाई समेट्ने विषयमा छलफल भएको देखिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट