काठमाडौं । राष्ट्रियसभा निर्वाचन उम्मेदवारको भागबण्डा मिलाउन सत्तारुढ दुई ठूला दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच छलफल भएको छ ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको हो ।
उपप्रधान तथा रक्षा मन्त्रीसमेत रहेका कांग्रेस नेता पूर्णबहादुर खड्काले राष्ट्रियसभाका उम्मेदवार टुंग्याउन विषयमा छलफल भएको जानकारी दिए । उनले राष्ट्रियसभाको भागण्बडा नमिलेसम्म दलहरूबीच बैठक चल्ने बताए ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति खड्का, महामन्त्री गगन थापालगायत नेताहरू सहभागी रहेका छन् । यस्तै, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा गृहमन्त्रीसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी भएका थिए ।
आगामी फागुन २० गतेदेखि एमालेबाट मनोनित एक जनासहित नौ सांसद, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र स्वतन्त्र सांसद एक गरी २० सांसदको पदावधि सकिँदै छ ।
आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुने भएको छ । यसका लागि पुस २३ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।