काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबीच फाइनल खेल भइरहेको छ ।
एपीएफ क्लबले कोशी प्रदेशसामु जितका लागि एक सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै एपीएफ क्लबले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १४ रन बनायो ।
एपीएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् । उनले ४७ बल खेल्दै ५३ रनको योगदान दिइन् । यस क्रममा बर्माले छ चौका र एक छक्का प्रहार गरिन् । यस्तै, ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाइन् ।
बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक गरिन् । उनले २० औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिइन् ।
बेगमले पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिइन् । यस्तै एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक-एक विकेट लिइन् ।
अहिले कोशी प्रदेशले जवाफी ब्याटिङ गरिरहेको छ । कोशीले नौ ओभरमा एक विकेट गुमाएर ३६ रन बनाएको छ । कोशीले अप्सरी बेगमका रुपमा पहिलो विकेट गुमाएको छ ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख पुरस्कार प्राप्त गर्ने छ ।