जापानमा विमान ठोक्किएको घटनाबारे अनुसन्धान सुरु, सयौँ उडान प्रभावित-Sutra News

जापानमा विमान ठोक्किएको घटनाबारे अनुसन्धान सुरु, सयौँ उडान प्रभावित

बुधबार, १८ पौस २०८०

बुधबार, १८ पौस २०८०

काठमाडौं । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मंगलबार साँझ तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान आपसमा ठोक्किए ।



दुर्घटना भएसँगै विमानमा भीषण आगलागी भएको थियो । घटनाबारे अनुसन्धान सुरू गरिएको जापानको यातायातसम्बद्ध अधिकारीले जनाएको छ ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो । विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने तीन सयभन्दा बढी उडान रद्द भएका थिए ।

हवाईजहाज, रेल र पानीजहाजमा भएका गम्भीर दुर्घटनाको अनुसन्धान गर्ने सरकारी निकाय जापान यातायात सुरक्षा बोर्डले बुधबार दिउँसो विमानको भग्नावशेषको जाँच गरेको छ । प्रहरीले पनि दुर्घटनास्थलको निरीक्षण गरेको थियो ।

सुरक्षा बोर्डले सामुद्रिक सुरक्षा गार्डको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू फेला पारेको जानकारी दिएको छ । यस्तै, होक्काइदो प्रान्तको न्यू चिटोस विमानस्थलबाट उडेको जापान एयरलाइन्सको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू खोजी गरिरहेको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

‘हनेदा एयर ट्राफिक कन्ट्रोलरले दुर्घटना हुनुअघि यात्रुवाहक विमानलाई धावनमार्गमा अवतरण गर्न अनुमति दिएका थिए र कोस्ट गार्ड विमानलाई ‘छोटो समयका लागि धावन मार्गमा पर्खिन’ निर्देशन दिएका थिए,’ जापानको यातायात मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै राष्ट्रिय प्रसारणकर्ता एनएचकेले जनाएको छ ।

बुधबार तीनवटा धावनमार्ग खुला गरिए पनि दिनभरि करिब १०० वटा उडान बन्द हुने अनुमान गरिएको छ । जसका कारण १९ हजार यात्रुको यात्रा योजना प्रभावित हुनेछ ।

एमए–७२२ विमानमा सवार चालक दलका छ सदस्यमध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनापछि विमानबाट उम्कन सफल क्याप्टेन गम्भीर घाइते भएका छन् ।

यात्रुबहाक विमानमा सवार ३६७ यात्रु र चालक दलका १२ सदस्य विमानबाट उम्कन सफल भएका थिए । टोकियोको दमकल विभागका अनुसार दुर्घटनापछि आगो निभाउन आठ घण्टाभन्दा बढी समय लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट