प्रचण्ड धरान नजाने, हर्कले फोटो नटाँस्ने !-Sutra News

प्रचण्ड धरान नजाने, हर्कले फोटो नटाँस्ने !

बुधबार, १८ पौस २०८०

बुधबार, १८ पौस २०८०

काठमाडाैं । धरान उपमहानगरपालिका स्थापनाको अवसरमा पुस २० देखि २४ गतेसम्म विभिन्न औपचारिक कार्यक्रम गरेर मनाउन लागेको धरान डेको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित नहुने भएका छन् भने प्रधानमन्त्री प्रचण्ड धरान डेको उद्घाटन सत्रमा सहभागी नभए आफ्नो कार्यकक्षमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो नटाँस्ने अडान लिएका छन् ।



धरान उपमहानगरपालिका स्थापना दिवस धूमधामले मनाउने तयारीसहित प्रधानमन्त्रीलाई नै प्रमुख अतिथि बनाएर निम्त्याउने योजनाअनुरुप नै केही हप्ता अगाडिदेखी नै प्रधानमन्त्रीको सचिवालयसँग निरन्तर संवादमा रहेका धरान उपमहानगरपालिकाका मेयर साम्पाङलाई प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण कार्यक्रम रहेकोले आउने सम्भावना नरहेको भनेपछि बिच्किएका साम्पाङले त्यसैको प्रतिक्रिया स्वरूप आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने निर्णय गरेका थिए । विभिन्न दलका कार्यकर्ताहरू राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डको फोटो बोकेर साम्पाङको कार्यकक्षमा पुगे पनि सफल नबनेर फर्किएका थिए ।

धरान डे को अवसरमा आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्रीलाई उपस्थित गराए तत्काल राष्ट्रपति र प्रधानमन्त्रीको फोटो आफ्नो कार्यकक्षमा राख्ने अडान लिएपछि दलका कार्यकर्ता पनि त्यसै फर्किएका थिए । संघीय सरकारले धरानलाई महत्व नदिएको मेयर साम्पाङको गुनासो छ ।

यति मात्रै नभएर नगर प्रमुख साम्पाङले सामाजिक सञ्जालबाटै सार्वजनिक गरेको भिडियोमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाए बापत आफूलाई पदबाट हटाउन सक्ने भए हटाएर देखाउन समेत चुनौती दिएका छन् ।

धरान डेका लागि मंसिर १७ गतेबाट नै तयारी थालिएको बुधबार भएको पत्रकार सम्मेलनमा नै जानकारी दिए । धरान डेको उद्घाटनको अगाडि नै पुस १९ गतेबाट सरसफाइ अभियानसँगै सुरु हुने छ । धरान डे को उद्घाटन भने पुस २० गते नै हुने, २१ गते साइक्लिङ, साहित्यिक सम्मान गर्ने कार्यक्रम छ भने २२ गते वाकथन र विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिने छ भने धरान डे कै अवसरमा लोकदोहोरी प्रतियोगिता र लगानी गोष्ठी समेत आयोजना गरिने मेयर साम्पाङको भनाई छ ।

धरान डे को बारेमा स्थानीयसँग आवश्यक छलफल र तयारी नभएको भन्दै धरानमै मेयर साम्पाङको विरोध भैरहेको छ । धरान उपमहानगरपालिकाका उप प्रमुख आइन्द्र विक्रम बेघाले पनि आफूलाई कुनै जानकारी नभएकोले मेयर साम्पाङलाई नै सोध्न आग्रह गरे । धरान डे को उद्घाटन गर्न प्रधानमन्त्री अनुपस्थित हुने भएसँगै बिना प्रमुख अतिथि नै धरान डे को आयोजना गर्ने तयारी मेयर साम्पाङले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट