एमालेलाई भाग दिने प्रस्तावले गठबन्धनभित्र किचलो-Sutra News

एमालेलाई भाग दिने प्रस्तावले गठबन्धनभित्र किचलो

बिहिबार, १९ पौस २०८०

बिहिबार, १९ पौस २०८०

काठमाडौं । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी एमालेलाई पनि सिट बाँडफाँट गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रको प्रस्तावपछि सत्ता गठबन्धनभित्र किचलो सुरु भएको छ । एकातिर प्रस्तावक दलभित्रै किचलो देखिएको छ भने अन्य साझेदार दलले विरोध जनाएका छन् ।



एमालेलाई समेट्ने प्रस्तावलाई लिएर विशेषगरी प्रस्तावक कांग्रेसभित्रै असन्तुष्टि चुलिएको छ भने सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले चर्को विरोध जनाएको छ । एकीकृत समाजवादीको विरोधपछि बिहीबार बिहानको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

सत्ता साझेदारको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई सिट दिनु सैद्धान्तिक र रणनीतिकरुपमा गलत भएको बताएका थिए । “एमालेलाई के आधारमा सिट दिने ? न सैद्धान्तिकरुपमा मिल्छ न त रणनीतिकरुपमा”, माधव नेपालले भनेको भनाई उद्र्धत गर्दै एक नेताले भनेका छन् ।

बिहीबार बिहानको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) भने दुई दलको प्रस्तावमाथि मौन देखिएको नेताहरुले बताएका छन् । गठबन्धनका अन्य दलहरुले दुई दलको प्रस्तावबारे भने सार्वजनिक टिप्पणी गरेका छैनन् । यद्यपि, एमालेलाई समेट्ने पक्षमा अधिकांश दल नदेखिएको नेताहरुले बताएका छन् ।

कांग्रेस संस्थापन इतरको तिव्र असन्तुष्टि

एमालेलाई राष्ट्रियसभामा भाग दिने प्रस्तावप्रति कांग्रेसको संस्थापन इतर पक्ष विराेधमा देखिएकाे छ। पछिल्लो प्रस्तावलाई लिएर संस्थापन इतर सभापति शेरबहादुर देउवामाथि खनिएको छ ।

इतर पक्षका नेता शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत नै असन्तुष्टि पोखेका छन् । उनले के काण्डबाट जोगिन एमालेको साथ खोजेको ? भन्दै प्रश्न गरेका छन् ।

“हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्, कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ, अनि एमाले”, उनले भनेका छन् ।

महामन्त्री गगन थापाले पनि यसअघि घुमाउराे शैलीमा विराेध जनाएका थिए ।

टीआरसीमा सघाउने सर्तमा एमालेलाई सीट

उसो त एमालेलाई सिट दिन कांग्रेस र माओवादी केन्द्र यत्तिकै तयार भएका होइनन् । विशेषगरी माओवादी केन्द्र द्वन्द्वकालिन मुद्दासँग सम्बन्धित टीआरसी विधेयक टुंग्याउने पक्षमा देखिएकाे छ भने नेपाली कांग्रेस काेइरालाले भनेजस्तै विभिन्न मुद्दा टुंग्याउने पक्षमा देखिएकाे छ ।जसका लागि दुई दलकाे नेतृत्व एमालेलाई समेट्ने निर्णयमा पुगेकाे हाे ।

टीआरसीमा सघाउने सर्तमा एमालेले पनि ६ सिट दिन भनेको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबारको गठबन्धनको बैठकमा एमालेको प्रस्ताव र गठबन्धनको सर्तबारे जानकारी गराएका थिए ।

“एमालेले राष्ट्रियसभाका ६ सिट मागेको छ, शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन एमालेलाई पनि सहमतिमै लिएर जाउ भन्ने मेरो प्रयास हो, के गर्न सकिन्छ ?”, गठबन्धनको बैठकमा प्रचण्डको भनाईलाई उद्र्धत गर्दै एक नेताले भनेका छन् ।

तर, गठबन्धनभित्रै देखिएको विवादले एमालेसँगको सहमति के हुने अन्योल देखिएको छ ।

आगामी फागुन २० मा राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल सकिँदैछ । त्यसका लागि माघ ११ मा निर्वाचन हुँदैछ ।

बाहिरिने १९ सदस्यमध्ये एमालेबाट ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र १ छन् । मतभारको हिसाबले मधेशबाहेकका प्रदेश कांग्रेस र माओवादी मिल्दा सहज बहुमत पुग्छ । यस्तोमा दलहरु मिलेरै जाने र अन्य किचलोका विषय पनि टुंग्याएर जाने छलफलमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट