काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक खेल तालिका सार्वजनिक गरेको छ ।
क्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेल तालिका सार्वजनिक गरेको हो ।
नेपालले आईसीसी विश्वकप लिग दुई, टि-२० सिरिज, एक दिवसीयलगायतका सिरिजलाई खेल तालिकामा समेटेको छ । नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने छ ।
त्यस्तै, नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिकोणात्मक टि-२० सिरिज खेल्ने खेलतालिकामा उल्लेख छ । उक्त खेल नेपालमै हुनेछ ।
आगामी १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग पाँच एक दिवसीय र तीन टि-२० खेल खेल्ने छ । यसैगरी क्यानले आफ्नो खेल तालिकामा आगामी मंसिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ ।
क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेल तालिकामा समावेश गरिने बताए ।