जापानमा भूकम्पमा परी ७८ जनाको मृत्यु, ५१ बेपत्ता-Sutra News

जापानमा भूकम्पमा परी ७८ जनाको मृत्यु, ५१ बेपत्ता

बिहिबार, १९ पौस २०८०

बिहिबार, १९ पौस २०८०

काठमाडौं । जापानमा सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । भूकम्पमा परी ५१ जना बेपत्ता भएका छन् ।



जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधिकतम बनाउन आग्रह गरे ।

जापानको विपद् व्यवस्थापन मुख्यालयको बैठकमा बोल्दै उनले नागरिकको जीवन रक्षाका लागि उपलब्ध सबै स्रोत परिचालन गर्न अधिकारीलाई निर्देशन दिए ।

भूकम्पपछिको पहिलो ७२ घण्टा उद्धारका लागि विशेष महत्वपूर्ण रहने तथा त्यस पछि बाँच्ने सम्भावना निकै कम हुने विज्ञहरू बताउँछन् ।

‘बिहीबार साँझ भूकम्पको ७२ घण्टा हुने हुँदा विपद्मा परेका सबैको जीवन बचाउन पूर्ण समर्पणका साथ काम गर्न सरकारले सुरक्षाकर्मी तथा उद्धारमा खटिएका संघसंस्था तथा व्यक्तिहरूलाई निर्देशन दिएको छ,’ प्रधानमन्त्री किशिदाले भने ।

प्रभावित तटीय सहर वाजिमामा धेरै मानिस अझै पनि भग्नावशेषमा फसेको विश्वास गरिएको छ । वाजिमामा हालसम्म ४४ जनाको मृत्यु भएको पुष्टि भएको जापानको समाचार संस्था क्योदोले जनाएको छ । रिपोर्टअनुसार वाजिमाको तटमा विपद् सफाई कार्यको लागि एउटा जहाज खटाइएको छ ।

भग्नावशेष र अवरूद्ध सडकका कारण खोजी तथा उद्धार कार्यमा चुनौती थपिएको छ । शक्तिशाली भूकम्पको तीन दिनपछि इशिकावा र वरपरका क्षेत्रमा सुनामीको चेतावनी दिइएको थियो ।

भूकम्पपछि सुनामीले इशिकावाको सय हेक्टर क्षेत्र डुबानमा परेको र बाढीको प्रभाव अझ ठूलो हुने भूमि मन्त्रालयले जनाएको छ ।

इशिकावाको नोटो क्षेत्रमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पलाई जापान मौसम विज्ञानसम्बन्धी निकायले आधिकारिक रूपमा नोटो प्रायद्वीप भूकम्प २०२४ नाम दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट