धान नपाएपछि चामल खरिद गर्दै खाद्य कम्पनी-Sutra News

धान नपाएपछि चामल खरिद गर्दै खाद्य कम्पनी

बिहिबार, १९ पौस २०८०

बिहिबार, १९ पौस २०८०

काठमाडौं । न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदको प्रक्रिया अघि बढाएको छ ।



सरकारले तोकेका मूल्यमा धान बिक्री गर्न किसान इच्छुक नभएपछि दुर्गम क्षेत्रमा खाद्यान्नको जोहो गर्न दुई लाख ९१ हजार क्विन्टल चामल खरिद गर्न टेण्डर आह्वान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले चालु आर्थिक वर्षका लागि पाँच लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । गत मंसिर मसान्तसम्म कम्पनीले जम्मा ४६ हजार क्विन्टल मात्र धान खरिद गर्न सकेको छ ।

‘सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा धान खरिद बिक्री गर्ने किसान इच्छुक देखिएनन्,’ प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले भने ।

धानको बजार मूल्य सरकारी दर रेटभन्दा बढी हुँदा किसानले कम्पनीलाई नभई व्यापारीलाई दिएका उनले जानकारी दिए । ‘सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यमा व्यापारीले धान किने”, कार्यकारी अधिकृत चन्दले भने, ‘सरकारी दररेटभन्दा बढी मूल्य तिरेर धान खरिद गर्ने व्यवस्था नहुँदा लक्ष्यअनुसार प्रगति हासिल गर्न सकिएको छैन ।’

लक्ष्यअनुसार धान खरिद हुन नसक्ने अवस्था देखिएपछि चामल खरिद गर्न लागिएको उनको भनाइ छ । दुर्गम क्षेत्रका जनतालाई खाद्यान्न उपलब्ध गराउन प्रतिस्पर्धाका आधारमा चामल किन्न लागिएको कार्यकारी अधिकृत चन्दले जानकारी गराए ।

भारतबाट नेपालाई प्राप्त भएको ९५ हजार मेट्रिकटन चामल आयात कोटामध्ये कम्पनीले आफ्नै स्रोतबाट २० हजार मेट्रिक टन चामल खरिद गर्न पहल भइरहेको उनको भनाइ छ । सरकारले थप बजेट उपलब्ध गराए २० हजार मेट्रिकटन चामल खरिद गरिने कार्यकारी अधिकृत चन्दले बताए ।

कम्पनीले चालु आवमा तीन लाख २६ हजार चामल खरिद गर्ने लक्ष्य लिएको छ । कम्पनीले गत आवमा तीन लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य लिए पनि लक्ष्यको आधा पनि धान किन्न सकेका थिएन । उक्त वर्ष कम्पनीले जम्मा एक लाख ३४ हजार क्विन्टल धान र एक लाख ३७ हजार छ सय क्विन्टल चामल किनेको थियो ।

सरकारले चालु आवका लागि मोटा धान प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धान प्रतिक्विन्टल तीन हजार ३६२ समर्थन मूल्य तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट