काठमाडाैं । क्रिसमसको छेको पारेर नेपाल ख्रीष्टियन महासंघले आयोजना गरेको कार्यक्रममा नेपालमा क्रिश्चियन धर्मलाई मान्दिन भन्नेहरू संविधान विरोधी भएको र संविधान नमान्नेहरू देशद्रोही भएको अभिव्यक्ति दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ ।
काठमाडौका ध्रुवराज लुइँटेलले मन्त्री किराँती विरुद्ध हुलाकमार्फत जाहेरी दिएका हुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीको अभिव्यक्तिले ‘म जाहेरवाला लामो समय अगाडिदेखि हिन्दू धर्मको भावनाले ओतप्रोत भई धर्मको माध्यमले राज्यलाई सशक्तीकरण गर्ने र एकतामा राख्न सक्छ भनी धार्मिक सेवा गरि हिडि आएको एक वैदिक सनातनी धार्मिक व्यक्ति’ भएको र विपक्षी सुदन किराँती भन्ने सुदन राईले नेपाल सरकारको पर्यटन, संस्कृति मन्त्री भइ कार्य गरेकोमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा काम गर्नुपर्नेमा विपक्षीले २०८० पुस ९ गतेको एक भेलामा क्रिश्चियन मान्दिन भन्नू संविधान भन्नू हो भनी भनेको जिकिर गर्दै उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा १५६ को उपदफा १ विरुद्धको कसुरमा ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गराउन समेत माग गरेका छन् ।
मन्त्री किराँतीले ख्रीष्टियन महासंघको कार्यक्रममा उनको अभिव्यक्तिलाई लिएर किराँतीलाई मन्त्री पदबाट हटाउन माग गर्दै हिन्दु धर्मसँग सम्बन्धित विभिन्न धार्मिक संघसंस्था तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आलोचना गरेपनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने उनलाई पदबाट हटाउने कुनै संकेत दिएका छैनन् भने स्वयं मन्त्री किराँतीले भालेको डाँकसँगै आफ्नो राजीनामा माग्नेहरू अन्ततः हारेको प्रतिक्रिया दिंदै आएका थिए ।
अब हुलाक मार्फत नै भएपनि प्रहरी सम्म पुगेको जाहेरीलाई जिल्ला प्रहरी परिसर टेकुले दर्ता गर्छ वा गर्दैन त्यो भने प्रतीक्षाको विषय बनेको छ । हुलाक मार्फत मन्त्री किराँती विरुद्ध किटानी जाहेरी आएको भएपनि अब के गर्ने भन्ने विषयमा कुनै छलफल नभएको भन्दै नाम उल्लेख नगर्ने शर्तमा जिल्ला प्रहरी परिसर टेकुमा कार्यरत एक प्रहरी अफिसरले मन्त्री किराँती विरुद्धको जाहेरी दर्ता हुने सम्भावना भने शुन्यप्राय रहेको जानकारी दिए । संघीय सरकारका मन्त्री विरुद्ध आएको उजुरी राजनीतिक प्रेरित मात्रै भएको ती अधिकारीको संकेत छ ।