अध्यक्ष ढकाल भन्छन्– नीतिगत र व्यवहारिक सहजता हुने हो भने अर्थतन्त्र तत्काल सुधार हुन्छ-Sutra News

अध्यक्ष ढकाल भन्छन्– नीतिगत र व्यवहारिक सहजता हुने हो भने अर्थतन्त्र तत्काल सुधार हुन्छ

शुक्रबार, २० पौस २०८०

शुक्रबार, २० पौस २०८०

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघको दशौँ वार्षिक साधारण सभा तथा पच्चीसौँ स्थापना दिवस कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका लागि सरकारसँग आफुहरुले निरन्तर पहल गरेको जानकारी गराए ।



‘पछिल्लो पटक उद्योग व्यवसायका क्षेत्रमा विविध समस्या छन् । साना ठूला सबै तहका उद्योग व्यवसायका लागि विविध खालका चुनौती छन् । उद्योग व्यवसाय गर्ने वातावरण बनाउन हामीले सरकारलाई पनि बारम्बार आग्रह गर्दै आएका छौं, विज्ञ लगाएर सुझाव तयार गरी बुझाएका पनि छौं । ती कुराहरू कार्यान्वयन हुनु पर्‍यो’, अध्यक्ष ढकालले भने, ‘पछिल्लो समय ट्रङ तथा डेडिकेटेड लाइनको महशुल विवादले पनि उद्योगीहरु समस्यामा छन् । उद्योगहरुको डेडिकेटेड र टंकलाइनको पुरानो विवाद समाधान नहुँदै लाइन काटिएको छ । यसले औद्योगिक वातावरण विगार्छ । यसको समाधानका तत्काल एक उच्चस्तरिय आयोग वा संयन्त्रको माग गरेका छौ । यो समस्या कुनै एक निकायले समाधान गर्न सक्दैन ।’

उनले निजी क्षेत्र सम्मिलित आयोग बनाई त्यसबाट समाधान निकाल्नुपर्ने बताए । उनले भने, ‘यसरी काटिएको लाइन जोडन र थप नकाटन म आग्रह गर्दछु । यसले रोजगारी र राजश्वमा असर गरेको छ । मन्दीमा रहेको अर्थतन्त्रलाई थप प्रभावित बनाएको छ ।’

समस्या समाधानमा सरकार संवेदनशील नबनेकाे अध्यक्ष ढकालकाे भनाइ छ । ‘मुलुकभरिकै व्यापार व्यवसायलाई मुलुकको समग्र अर्थतन्त्रले प्रभावित पारेको छ । बाह्य क्षेत्र सकारात्मक भएपनि मुलुक भित्र माग सिर्जना हुन सकेको छैन् । यो विगतमा हामीले एकपछि अर्को गर्दै गरेको नीतिगत निर्णयका कारण भएको हो’, उनले भने, ‘मुलुकमा भविष्य नदेखेर युवाहरु पलायन भैरहेका छन् । रेमिट्यान्स त आएको छ तर उपभोग बढेको छैन् । हामीले यो समस्या हुँदैछ भनेर शुरुमै सरकारको ध्यानाकर्षण गराएका थियौ । तर समाधानमा ध्यान पुगेन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट