अस्पतालमा बन्धक बनेका ६४ वर्षीय दुर्गाप्रसाद छुटे-Sutra News

अस्पतालमा बन्धक बनेका ६४ वर्षीय दुर्गाप्रसाद छुटे

शनिबार, २१ पौस २०८०

शनिबार, २१ पौस २०८०

काठमाडौं । उपचार गरेको रकम तिर्न नसक्दा अस्पतालको बन्धकमा बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् ।



बिना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि विं.सं. २०७७ सालमा घर फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा उपचारका लागि भर्ना गराएका थिए ।

छ महिनाअघि उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि अस्पतालको बिल तिर्न नसक्दा बन्धक भएर अस्पतालमै बसेका थिए ।

परिवारको कमजोर आर्थिक अवस्था बुझेर चितवनको ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साइक्याट्रिनले उपचारमा भएको खर्च नलिई घर पठाएको छ ।

दुर्गाप्रसाद एक वर्ष नौ महिना सात दिन सो अस्पतालमा रहेका अस्पतालले जनाएको छ । उनी निको भएको छ महिना भइसके पनि अस्पतालमा तिर्नु पर्ने करिब चार लाख १५ हजार नहुँदा घर जान पाइएको थिएन ।

विभिन्न सञ्चार माध्यममा उपचार खर्च अभावले अस्पतालमै बस्न बाध्य दुर्गाप्रसाद शीर्षकमा समाचार आएपछि अस्पतालले उनले बुझाउन बाँकी रकम नलिई घर पठाएको अस्पतालका अध्यक्ष डा. गिरिराज भन्तानाले बताए ।

‘दुर्गाप्रसादमा देखिएको रोग सिजिफ्रेनिया हो,’ डा. भन्तानाले भने, ‘शतप्रतिशत निको भएको त होइन तर उनमा जति सुधार हुनु पर्ने हो, त्यति भइसकेको छ ।’

उनले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउन सक्ने र अरूले भनेको काम गर्न सक्ने भएको बताए ।

दुर्गाप्रसाद ०३७ साल माघमा बेपत्ता भएका थिए । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी ०७७ फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला परेका थिए ।

विभिन्न संघ-संस्थाको पहलमा उनलाई ०७७ चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो ।

इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले उनको केही उपचार निःशुल्क गरिदिएको थियो ।

उनको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार प्रदान गरेको थियो ।

उपचारपछि घर आएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट