रेलमा आगजनी गरेको आरोपमा वरिष्ठ नेतासहित सात जना पक्राउ-Sutra News

रेलमा आगजनी गरेको आरोपमा वरिष्ठ नेतासहित सात जना पक्राउ

शनिबार, २१ पौस २०८०

शनिबार, २१ पौस २०८०

काठमाडौं । बंगलादेशको प्रहरीले खचाखच भरिएको रेलमा आगजनी गरेको आरोपमा विपक्षी दलका नेतासहित सात जना पक्राउ परेका छन् ।



शुक्रबार राति ढाकाको मध्य भागमा रहेको ‘इन्टरसिटी बेनापोल एक्सप्रेस’ रेलमा भएको आगलागीमा सयौँको संख्यामा यात्रुलाई जलिरहेको गाडीबाट बाहिर निकालिएको थियो ।

विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले आइतबार हुने राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा गरेको ‘विध्वंसकारी कार्य’मा सम्लग्न बीएनपीका वरिष्ठ नेता नबीउल्लाह नाबी र पार्टीका अन्य छ जना कार्यकर्तालाई शनिबार बिहान राजधानीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ढाका महानगरीय प्रहरीका प्रवक्ता फारुक हुसेनले एएफपीसँग भने, ‘नाबीले ‘बीएनपीको हिंसात्मक आन्दोलन’मा आर्थिक सहयोग गरर्नु भएको थियो ।’

बीएनपी र अन्य दर्जनौं विपक्षी दलले आइतबारको मतदान बहिष्कार गरिरहेका छन् । उक्त पार्टीले आगलागीको जिम्मेवारी लिएको भन्ने आरोपको खण्डन गर्दै घटनाको अन्तर्राष्ट्रिय छानबिनको माग गरेको छ ।

पार्टीका प्रवक्ता एकेएम वाहिदुज्जमानले एएफपीसँग भने, ‘बीएनपीको अहिंसात्मक आन्दोलनलाई बदनाम गर्ने उद्देश्यले सरकारी पदाधिकारीहरूले गरेको यो पूर्वनियोजित विध्वंसात्मक कार्य हो ।’

प्रमुख विपक्षी दलसहितका प्रभावशाली केही दलहरूले भाग नलिएको आइतबारको मतदानमा ७६ वर्षीया वर्तमान् प्रधानमन्त्री हसिना लगातार पाँचौं कार्यकालका लागि निर्वाचित हुने निश्चित भएको पर्यवेक्षकहरूले बताएका छन् ।

विपक्षी दलहरूले गत वर्ष निर्वाचनको पर्यवेक्षण गर्न र देशको अखण्डता सुनिश्चित गर्न तटस्थ कामचलाउ सरकारको पक्षमा हसिनाको राजीनामाको माग गर्दै शृङ्खलाबद्ध विरोध प्रदर्शन गर्दै आएका छन् ।

आइतबार हुने मतदानका लागि भएको निर्वाचन अभियानको क्रममा भएका हिंसामा परी शनिबार अपरान्हसम्म कम्तीमा १५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट