काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका चार दलबीच सीट बाँडफाँटमा सहमति भएको छ । आइतबार बिहान बसेको गठबन्धनको बैठकले सहमति जुटाएको छ ।
कांग्रेस नेता रमेश लेखकले जानकारी दिएअनुसार शनिबार राति बसेको बैठकमा गरिएको प्रस्तावअनुसार नै दलहरुबीच सहमति गरिएको हो ।
लेखकले जानकारी दिएअनुसार राष्ट्रियसभाको १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने सहमति भएको छ ।
यसअघि एकीकृत समाजवादीले २ सिटमा चित्त बुझाएको थिएन । उसले तीन सिट पाउनुपर्ने दाबी गरेको थियो ।
तर, आइतबारको बैठकमा एकीकृत समाजवादीले सहमति जनाएको हो ।
राष्ट्रियसभामा १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । माघ ११ मा हुने निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।