गठबन्धनबाट बाहिरिन सक्छ एकीकृत समाजवादी !-Sutra News

गठबन्धनबाट बाहिरिन सक्छ एकीकृत समाजवादी !

आइतबार, २२ पौस २०८०

आइतबार, २२ पौस २०८०

काठमाडौं । आफूले मागेजति सिट नदिएपछि नेकपा (एकीकृत) समाजवादी सत्ता गठबन्धनका मुख्य दलप्रति तिव्र असन्तुष्ट बनेको छ । समाजवादीभित्र गठबन्धनमै रहने वा नरहने भन्ने कोणबाट बहस सुरु भएको छ ।



राष्ट्रियसभामा एकीकृत समाजवादीले न्यूनतम तीन सिट पाउनुपर्ने अडान लिएको थियो । तर, नेपाली कांग्रेस र माओवादी केन्द्र उसको अडानमा सहमत देखिएनन् । आइतबार बिहान बसेको गठबन्धनको बैठकले एकीकृत समाजवादीको असहमतिकै बीच सिट बाँडफाँट गरेको थियो ।

“हामी आफ्नो अडानमै छौं, सहमति भएको छैन”, बैठकबाट बाहिरिँदै गर्दा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डले भनेका थिए ।

राष्ट्रियसभाको १९ सिटमा नेपाली कांग्रेसलाई १०, माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट पाउने गरी भागवण्डा भएको थियो । तर, उक्त भागवण्डामा अहसमत बनेको एकीकृत समाजवादी गठबन्धनको बैठकबाट बाहिरिएर आन्तरिक छलफलमा जुटेको छ ।

एकीकृत समाजवादीभित्र सिट बाँडफाँट नसच्चिए गठबन्धनबाट बाहिरिनुपर्ने कोणबाट छलफल भएको छ । नेताहरुले बताएअनुसार पछिल्लो निर्णयलाई एकीकृत समाजवादीले ‘हेपाई’को रुपमा बुझेको छ ।

पदावधि सकिँदै गरेका १९ सदस्यमध्ये स्वतन्त्र खिमलाल देवकोटासहित एकीकृत समाजवादीका तीन सदस्य छन् । एकीकृत समाजवादी सोही संख्यामै सदस्य पाउनुपर्ने अडानमा थियो ।

दलहरुबीच यसअघि रिक्त हुँदै गरेका एमालेका ९ सदस्यमात्रै भागवण्डा गर्नुपर्ने छलफल चलेको थियो । तर, पछिल्लो निर्णयसँगै एकीकृत समाजवादीले पूर्ववत् संख्या पनि गुमाएको छ ।

१९ सदस्यमध्ये कांग्रेसका चार, माओवादी केन्द्रका तीन र जसपाका एक सदस्य छन् । जसमा कांग्रेसले आफ्ना चारसहित थप छ सिट पाएको छ भने माओवादी केन्द्रले आफ्ना तीनसहित थप तीन सिट पाएको छ । जसपाको एक सदस्यको पदावधि सकिँदैछ । जसपाले उसले पनि एक सिट पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट