काठमाडौं । सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १० सिट पाएको छ । पार्टीले पाउने सिट टुंगो लागेपछि सभापति शेरबहादुर देउवाले पार्टीभित्र आन्तरिक छलफल गरेका छन् ।
आइतबार दिउँसो बस्ने पार्टीको कार्य सम्पादन समितिको बैठकअघि इतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापासहितका नेताहरूसँग देउवाले छलफल गरेका हुन् ।
स्रोतका अनुसार राष्ट्रियसभा उम्मेदवारबारे छलफल गर्न कोइराला-थापासहित इतर पक्षका नेताहरू धुम्बाराही पुगेका थिए ।
कोइराला-थापा पक्षले कांग्रेसले पाएको १० मध्ये ४ सिट आफूहरूले पाउनु पर्ने दाबी गरेको छ । यसअघि मन्त्रीको भागबण्डा नमिलेको भन्दै सभापति देउवाविरुद्ध इतर पक्षले विरोध जनाएका थिए ।