काठमाडौं । नजिकिँदो तीला सक्रायत (माघेसङ्क्रान्ति) कसरी टारौँ भन्ने सोचेर जिङ्राएका यहाँका उखु उत्पादक किसानलाई राहत मिलेको छ ।
जिल्लाको गौशाला नगरपालिका-१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज (बोलिचालीमा एभरेष्ट चिनी उद्योग)ले यही पुस १६ गतेसम्म तौल भएको उखुको पूरै भुक्तानी दिएपछि किसानलाई राहत मिलेको हो ।
गत मंसिर २६ गते यस पालिको यामको तौल खोलेर पुस ४ गते चिनी उत्पादन थालेको उद्योगले यस अवधिमा तौल भएको उखुको पूरै भुक्तानी दिएको छ ।
गत सोमबारसम्म तौल भएको करिब पाँच लाख क्विन्टल उखुको भुक्तानी उद्योगले किसानलाई उपलब्ध गराएको हो । यस्तो भुक्तानी पाउने महोत्तरीबाहेक अन्य जिल्लाका किसान पनि छन् । पहिलो चरणमा १९ करोडभन्दा बढी रकम भुक्तानी गरिएको उद्योगले जनाएको छ ।
‘रमाइलो गरी मनाइने तिलासक्रायत पर्व के गरी टारौँ भन्ने थियो, त्यस्तै गहुँखेती र अन्य चैतेबाली लगाउँदाको खर्च तिरोतारोको धौधौ परेका बेला उखुको रकम पाइयो,’ पहिलो चरणको उखुको भुक्तानी पाएपछि राहत महसुस गरेका भङ्गाहा-४ का किसान हीरालाल महतोले भने ।
जिल्लाकै गौशाला-१० लक्ष्मीनियाँका किसान अरुण कुशवाहाले पनि ठिक समयमा भुक्तानी पाइँदा घरव्यवहार मिलाउन सजिलो भएको बताए ।
‘विगतमा उखुको भुक्तानी पाउन झण्डै वर्ष दिन कुर्नुपथ्र्यो,’ कुशवाहा भने, ‘अहिले दुई साताभित्रै भुक्तानी भएको छ ।’ उद्योगले भुक्तानी सहज बनाएपछि किसान फेरि उखु खेतीतिर हौसिएका उनको भनाइ छ ।
विं.सं. २०७२ सम्म महोत्तरीमा १८ हजार बिघासम्म पुगेको उखुखेती कहिल्यै समयमा भुक्तानी नपाएर किसानले दिक्क भएर छाड्दै जाँदा २०७५ सालमा यो खेती पाँच हजार बिघामा झरेको थियो ।
त्यसयता किसान, किसानसम्बद्ध उखु उत्पादक कृषक संघ महोत्तरी र उखु उत्पादक महासंघ लगायतको निरन्तरको संघर्षको परिणमले पछिल्ला दुई/तीन वर्षयता क्रमशः भुक्तानी सहज बन्दै गएपछि फेरि उखु खेती अलिअलि गरे बढ्दै गएको उखु उत्पादक कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहा बताउँछन् ।