काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनसँग मिलेर महागठबन्धन निर्माण गर्ने ‘ढोक्सा’ एकपटक फेरि खाली भएको छ । संक्रमणकालिन न्यायसम्बन्धी ऐनमा सहयोग गर्ने ढोक्सा थापेर मिनि संसद भनिने तीन वटा संसदीय समितिको सभापति हात पारेका ओलीको चालबाजी यसपटक असफल हुन पुग्यो ।
पुस १० मा एमालेसमेतको सहयोगमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएपछि कांग्रेसलाई सत्ताको ढोक्सो नथाप्न संसदको रोष्टममै उभिएर चेतावनी दिएका ओलीलाई अन्तमा आफ्नै ढोक्सोले धोका दिएको हाे ।
बिहान उठेदेखि राति नसुत्दासम्म सत्ता गठबन्धनको आलोचना गरेर नथाक्ने एमाले अध्यक्ष ओलीले संक्रमणकालीन न्यायलाई देखाएर प्रधानमन्त्री प्रचण्ड र विभिन्न काण्डको सहज अवतरणको लागि सहयोग गर्ने बचन दिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत ‘कन्भिन्स’ गर्न सफल बनेका थिए । तर, आफ्नै दलबाट फुटेका पूर्वसहकर्मी एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चर्को प्रतिवादसँगै ओलीकाे याेजना सफल भएन ।
लोकतन्त्रमा प्रमुख प्रतिपक्षीलाई ‘वेटिङ गभर्मेन्ट’ भन्ने परिपाटीलाई नै लत्याउँदै सत्ता गठबन्धनसँग राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने ओलीको तयारी आफ्नै दलभित्र पनि विवादित बनेकाे थियाे । उनकाे एकल निर्णयकाे विपरित केन्द्रिय सचिवालयको बैठकले सबै सिटमा उम्मेदवार उठाउने निर्णय गरेकाे थियाे ।
सँगै बिडम्बना, शनिबार बिहानै बसेको सत्ता गठबन्धको बैठकले ६ सिट एमालेलाई दिन नसकिने भन्दै एमालेसँगको सहकार्यको ‘च्याप्टर क्लोज’ गरिदियाे । यो सँगै शनिबार नै खाली भैसकेको ओलीको ढोक्सा आइतबारको सत्ता गठबन्धनको सिट बाँडफाँटसँगै औपचारिकरूपमै अन्त्य भएको छ ।
राष्ट्रियसभा निर्वाचनमा ओलीले ६ सिट पाउनैपर्ने अडान लिएका थिए । तर, गठबन्धन मिलेसँगै एमाले निल बन्ने अवस्था सिर्जना भएको छ । समानुपातिक मतका हिसाबले पहिलो दल रहेको एमाले आगामी फागुन २० देखि राष्ट्रियसभामा तेस्रो दलमा खुम्चिने लगभग पक्कापक्की छ ।
कुनै पनि मूल्यमा सत्ता गठबन्धन टुटाउने प्रयासमा लागेका एमाले अध्यक्ष ओलीले त्यसमा सफलता हात नपारेपछि सत्ता गठबन्धनसँग आन्तरिक लेनदेन गरेरै सहकार्य गर्ने प्रयास थालेका थिए । केही दिनदेखि सत्ता गठबन्धनप्रति नरम देखिएका ओली अब सत्ता गठबन्धनप्रति आक्रोश व्यक्त गर्दै सार्वजनिक मञ्चमा भाषण गर्न बाहेक अर्को उपलब्धि तत्काल हासिल हुने छाँटकाँट देखिदैँन ।
सम्बन्धित समाचार