काठमाडाैं । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटकाे विषयलाई लिएर नेपाली कांग्रेसमा असन्तुष्टि देखिएकाे छ । महामन्त्री विश्वप्रकाश शर्माले पनि फरक मत राखेका छन् ।
महामन्त्री शर्माले ६ बुँदे फरक मत राखेका हुन् । उनले संसदीय बोर्डलाई पूर्णता नदिएर पदाधिकारीले मात्रै निर्णय गरेको, समावेशी नबनाएको, नेतृत्वले एकलौटी गरेको, योग्य र योगदान गरेकालाई नसमेटेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।
‘नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?’ शार्माले प्रश्न गरेका छन्, ‘राष्ट्रिय सभाकै नेतृत्व गर्नेगरी अपवाद स्वीकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौं साथी हुनुहुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ।’
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गएराति १० वटै सिटमा उम्मेदवार टुंग्याएको थियो ।
महामन्त्री शर्माका ६ बुँदे विमति यस्ता छन् –
१. उम्मेदवार चयनको समग्र सन्दर्भमा सभापतिको कार्यशैलीसँग प्रष्ट असहमत
२. संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको ?
३. राष्ट्रिय सभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र ? कांग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?
४. समावेशिताको सिद्धान्त विधानमा कि व्यवहारमा ?
५. नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?
६. राष्ट्रिय सभाकै नेतृत्व गर्ने गरी अपवाद स्विकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौं साथी हुनुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ ।