काठमाडौं । सन्राइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटले एकापसमा गाँभिएर आजदेखि एलएस क्यापिटलको नाममा एकीकृत कारोबार सुरु गरेको छ ।
एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी आजलेखि सेवा उपलब्ध गराउने भएको हो ।
कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा आयोजित एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछ कुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् ।
विगत तीन दशकदेखि पुँजी बजारको उत्थानमा समर्पित यस मर्चेण्ट बैंकले आफ्ना समस्त ग्राहक वर्गलाई उच्चतम सेवा उपलब्ध गराउँदै आइरहेको र दुई कम्पनी गाँभिएपश्चात नवीनतम सेवा सुविधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य राखेको छ ।
मर्जरपश्चात राजिव सापकोटाले अध्यक्षको पदभार ग्रहण गरेका छन् भने विजय लाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिएका छन् ।
कम्पनीले हाल गर्दै आएको मर्चेण्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाहरूको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवालाई अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलले लिएको छ ।
तीन दशक लामो ऐतिहासिक सफलता बोकेको यस मर्चेण्ट बैंकको एकीकृत चुक्ता पुँजी मर्जर पश्चात ४८ करोड ८९ लाख कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि दुई सयभन्दा बढी धितोपत्र निष्काशन, ४१ वटा बोलपत्रमार्फत धितोपत्र निष्काशन र ५२ वटा शेयर प्रत्याभूति व्यवस्थापन गरिसकेको कम्पनीको रुपमा परिचय बनाउन सफल भएको छ ।