राष्ट्रियसभाको उम्मेदवार छनोटले कांग्रेसमा विवाद, इतर पक्ष तिव्र असन्तुष्ट-Sutra News

राष्ट्रियसभाको उम्मेदवार छनोटले कांग्रेसमा विवाद, इतर पक्ष तिव्र असन्तुष्ट

सोमबार, २३ पौस २०८०

सोमबार, २३ पौस २०८०

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा गरिएको उम्मेदवार छनोटको विषयले सत्तारुढ नेपाली कांग्रेसभित्र विवाद बढाएको छ । उम्मेदवार छनोटको विषयलाई लिएर संस्थापन इतर पक्षले तिव्र असन्तुष्टि पोखेको छ ।



इतर पक्षले उम्मेदवार छनोट न्यायोचित नभएको भन्दै आपत्ति जनाएको छ । इतर पक्षका नेता डा शेखर कोइरालाले राष्ट्रिय सभा निर्वाचनको टिकट वितरणमा संस्थापन पक्षले मनोमानी गरेको आरोप लगाए । सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले सीमित सिटका कारण निष्ठावान्, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी नेताहरूलाई नसमेटिएको बताए ।

संस्थापन पक्षको मनोमानी तोड्न नसकेकोमा पार्टी पंक्तिप्रति माफी पनि मागेका छन् । संस्थापनविरुद्ध डटेरै लाग्नुपर्ने उनको निष्कर्ष छ ।

यसअघि टिकट वितरणलाई लिएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि असन्तुष्टि जाहेर गरेका थिए । उनीहरुले सभापति शेरबहादुर देउवाले मनोमानी गरेको आरोप लगाएका छन् ।

यस्तो छ शेखरको सामाजिक सञ्जालमार्फत व्यक्त भनाई

साथीहरु,

राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट आज १० जना साथीहरुले उम्मेदवारी दर्ता गराउनु भयो । पार्टी निणर्यबाट छानिएका सबै उम्मेदवार साथीहरुलाई भारी मतले जिताउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराउनु भएका सबैलाई जिताउनु पर्ने अभिभारा पनि हामीसँग छ ।

राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज थिएन । कांग्रेस जस्तो लामो ईतिहास भएको संघर्षशील पार्टीमा धेरै निष्ठावान, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी साथीहरुको सुची लामो थियो । यसर्थ सिमित सिटका कारण पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव भएन । तर पनि पार्टीमा अवसरको समान बितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ । यति हुँदा हुँदै हामी कति सफल या असफल भयौँ, पार्टीको बर्तमान ढाँचा, सोच र निर्णय प्रकियालाई प्रभावति गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरुले मनन गर्नुभएको र गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु ।

न्यायोचित टिकट बितरण गर्न असमर्थ पार्टी निर्णयमा मैले गल्ती-कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरुको सल्लाह र सुझावबाट भबिष्यमा अगाडी बढ्ने प्रण गर्दछु ।
मेरो अभियान पार्टीमा अवसरको न्यायोचित बितरण होस् भन्ने नै हो । यो अभियानमा साथीहरुबाट बिगतमा झै निरन्तर साथ र सहयोग पाइरहने अपेक्षा समेत गर्दछु । जय नेपाल ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट