काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले आगामी राष्ट्रियसभाको निर्वाचनमा एमालेले आफ्नो पार्टीलाई शून्यमा झार्ने प्रयास गरेको बताए ।
एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा नेकपा एसलाई पाखा लगाएर सिटको बाँडफाँट गर्ने प्रयास केपी ओलीले गरेको उनको भनाइ थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर ओलीले एमालेलाई ६ सिट मागेको उनको दाबी थियो । उनले एमालेको मति अझै सुध्रन नसकेको भन्दै कम्युनिष्टहरू मिलुन् मात्रै भनेर नहुने तर्क गरे ।
अध्यक्ष नेपालले अर्थतन्त्र सुधारलगायत समस्या समाधान गर्दै मुलुकलाई अघि बढाउन प्रधानमन्त्रीलाई आवश्यक सुझाव दिएको बताए । उनले काम गर्ने मुख्य भूमिका रहेकाले प्रधानमन्त्रीले सुझावका आधारमा सुधारका काम गर्न सक्नु पर्ने धारणा राखे ।
उनले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अघि बढ्ने भन्दै यसप्रतिको आघात स्वीकार्य नहुने बताएका थिए ।