काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विघटनपछि कम्युनिष्टहरुभित्र एकपछि अर्को गर्दै विग्रहको लहर चल्यो । नेकपा कालमा एउटै पार्टीभित्र रहेका नेताहरु करिब चार धुव्रमा बाँडिए ।
तर, नेकपा विघटन भएको दुई वर्षपछि भने फेरि एकताको चर्चा चल्न थालेको छ । मुख्यगरी ठूला मानिएका कम्युनिष्ट पार्टीका नेताहरुले नै पुनः समीक्षा गर्नुपर्ने बताउन थालेका छन् ।
हालै ‘आजको बामपन्थ’ विषयक छलफल कार्यक्रममा विशेषगरी सत्ताधारी नेताहरुले समीक्षा गर्नुपर्ने बताएका थिए । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले कम्युनिष्टहरुबीच नयाँ शीराबाट एकताको खाँचो औंल्याएका थिए ।
“हामीले नेकपा बनायौँ, विकल्प दिन्छौँ भन्यौँ तर, दिन सकेनौँ, टुटफुट भयो, अहिले विकल्प नवउदारवादी कोणबाट आइरहेको हामीले देखिरहेका छौं”, उनले भनेका थिए, “अब समाजवादी विकल्पमा त्यसका नीति कार्यक्रममा बहस गरौँ, वामहरूको एकता, धुव्रीकरण र सहकार्य गरेर जान सक्यौँ भने देशको भविष्य छ, नेतृत्व, संगठनको बहस होला, संयुक्त मोर्चाका रूपहरू होलान्, बहस गर्न सकिन्छ ।”
एमालेका नेता पृथ्वीसुब्बा गुरुङले पनि कम्युनिष्टहरुबीच पार्टीगतरुपमै एकता नभएपनि नीतिका आधारमा कार्यगत एकता हुनैपर्ने बताएका थिए । ब्राण्डको नाममा खुद्रा दल खोल्ने रोकिनुपर्ने उनको भनाई छ ।
“सबै कुरा एउटै छ भने पार्टीको नाम किन अलग–अलग राख्ने, नेताहरू किन अलगअलग बनाउने ? सकिन्छ भने एकताबद्ध कम्युनिष्ट पार्टी चाहियो, त्यो सकिँदैन भने संयुक्त मोर्चा चाहियो, नभए कार्यगत एकता हुनसक्छ चुनावमा,”, उनले भनेका थिए ।
यसअघि पनि विशेषगरी सत्तारुढ माओवादी केन्द्र र प्रतिपक्षी एमालेका नेताहरुबीच सहकार्यको खोजी गर्दै छलफल भएका थिए । पछिल्लो छलफललाई लिएर कम्युनिष्टहरुबीच फेरि एकताको सम्भावनाबारे चर्चा चलेको थियो ।
तर, बुधबार एक सार्वजनिक कार्यक्रमका बीच नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्टहरुबीच एकताको सम्भावना नरहेको बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै उनले कम्युनिष्टभित्रै सबैभन्दा बढी गलत विचार र प्रवृत्ति भएका व्यक्ति भएको बताउँदै चाहना राख्दैमा सम्भव नभएको बताए ।
“सबै कम्युनिष्ट मिलुन् भनेर चाहना राखेर मात्र हुँदैन, कम्युनिष्टभित्रै सबैभन्दा बढी विचार र प्रवृत्तिका हिसाबले गलत पात्र छन्, ति नसच्चिएसम्म एकता सम्भव छैन”, उनले भनेका छन् ।
पछिल्लो समय राष्ट्रियसभालाई केन्द्रमा राखेर एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एक ठाउँमा ल्याउने गरी छलफल भएको थियो । तर, एमाले अध्यक्ष ओलीको सर्तपछि माओवादी केन्द्र र एकीकृत समाजवादी तयार भएनन् । जुन घटनासँगै तीन दलका दोस्रो तहका नेताहरुले पहल गरेको एकताको पहल पनि तुहिएको जानकार बताउँछन् । अध्यक्ष माधव नेपालको अभिव्यक्ति पनि सोही कोणबाट आएको नेताहरुको भनाई छ ।