काठमाडौं । पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीप लामिछानेको नाम लिँदै भनेका थिए, “पहिली बार नेपालकी एक नवजवान खेलाडी सन्दीप लामिछाने आईपीएलमे भाग लेरा है ।”
अर्थात् नेपालका युवा खेलाडी सन्दीप लामिछाने पहिलो पटक आईपीएलमा सहभागी हुँदै छन् ।
प्रधानमन्त्री मोदीले थपेका थिए, ‘मै आशा कर्ता हुँ कि, आनेवाला समयमा क्रिकेटकी नही अन्य खेल्यो कि माध्यम से हामारा पिपल टू पिपल सम्बन्ध मजबुद हो रहे (आगामी समयमा जनता(जनताबीचको सम्बन्ध क्रिकेटबाट मात्र नभई अन्य खेलका माध्यमबाट पनि बलियो हुनेमा म विश्वस्त छु) ।”
यस्तै, सन्दीप लामिछाने आफैले पाँच वर्षअघि आईपीएलका लागि अक्सनमा दिल्ली डेयर डेभिल्समा अनुबन्ध भएपछि भनेका थिए, “यात्रा अब सुरु भयो ।”
पाँच वर्षअघि भारतमा भएको इण्डियन प्रिमियर कप (आईपीएल)मा खेलेर नेपाल फर्केपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, “नेपाली मौका पायो कि, दुई चार वटा डल्ला फ्याक्न पाक्यो थियो, सन्दीप चम्क्यो, चान्स पायो कि नेपालीले गर्छ ।”
दुई देशका तत्कालीन प्रधानमन्त्रीले दिएको यो अभिव्यक्ति सन्दीपको खेल र त्यसपछिको करिअर कति उज्ज्वल थियो भन्ने देखाउँछ । उनी आफैले पनि आईपीएल खेल्न पाएसँगै बल्ल खेल यात्रा सुरु भएको बताएका थिए । त्यतिबेला उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेल्न थालिसकेका थिए ।
आईपीएल खेलेपछि १७ वर्षीय सन्दीपले आफ्नो खेल कौशल देखाउन क्यारेबियन लिग, अष्ट्रेलियन क्रिकेट लिग, पाकिस्तान क्रिकेट लिगजस्ता अनेकौँ मैदान पाए । जुन नेपाली क्रिकेटरका लागि एक सपना मात्रै थियो ।
भारतीय प्रधानमन्त्री मोदीले भनेजस्तै एक १७ वर्षे नजजवान किशोर क्रिकेट खेलेरै रातारात सगरमाथाको उचाइमा पुगे । यो उनका लागि सानोतिनो कुरा थिएन ।
यसैबीच, क्रिकेट खेलको कौशलले नेपाललाई उचाईमा पुर्याएको भन्दै सन्दीपको पक्षमा सम्पूर्ण देशवासीले खुलेरै प्रशंसा गरे । उनको अविश्वसनीय सफलता देखेर नेपाली क्रिकेटप्रेमीले उनको करिअर धेरै लामो हुने विश्वास गरे ।
मैदानमा खेल्न थालेको छोटो समयमै तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई ‘रिप्लेस’ गर्दै २०७८ मंसिर २९ गते राष्ट्रिय क्रिकेट टोलीको कप्तान बने, उनी । तर, आफ्नै नियतीका कारण कप्तान नियुक्त भएको वर्ष दिन नपुग्दै खेल जीवन धरमराएको थियो ।
अन्ततः बुधबार जिल्ला अदालत काठमाडौंको फैसलासँगै सन्दीपको खेल जीवन समाप्त हुने अन्तिम मोडमा पुगेको छ ।
नाम बेचेर बलात्कार
खेल जीवन सुरु गरेको छोटो समयमा विश्वभर नाम कमाएका सन्दीप आफैमा एक ‘स्टार’ भइसकेका थिए । उनका पछि लाखौँ ‘फ्यान’ बनेका थिए । उनलाई भेट्न फ्यानहरूले जस्तोसुकै मूल्य चुकाउन तयार थिए । त्यसै मध्येकी थिइन्, किशोरी ‘गौशला २६’ ।
सन्दीपले खेलको नियम नै मिचेर ‘क्लोज क्याम्प’ बसेका बेला किशोरीसँग भेटेका थिए । यसबीच उनले किशोरीलाई बलात्कार गरे ।
भदौ ५ गते काठमाडौंको सिनामंगलस्थित एक होटलमा लगेर दुई पटक बलात्कार गरेको अभियोग उनीमाथि लाग्यो ।
०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको जाहेरी दर्ता भएपछि लामिछानेको स्टारडमसँगै खेल जीवनको यात्रा ओरालो लाग्न थाल्यो ।
अरूबेला खेलेर फर्किंदा फूलमालाले सजिने उनी जाहेरी दर्ता भएसँगै स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले हत्कडी लगायो ।
यसै घटना परिघटनाबीच बुधवार काठमाडौं जिल्ला अदालतले सन्दीपले बलात्कार गरेको ठहर गर्दै आठ वर्ष कैद सजाय तोक्यो । तर, उनलाई बाहिर बसेर उच्च अदालतमा जाने बाटो खुला राखिदिएको छ ।
माथिल्लो अदालतहरूले पनि जिल्ला अदालतको निर्णय सदर गरे सन्दीपले आठ वर्ष जेल बस्नुपर्ने हुन्छ । पीडित किशोरीलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति र तीन लाख जरिवाना तिर्नुपर्ने हुन्छ । आठ वर्ष जेल बस्नुपर्दा उनी पुनः खेल जीवनमा फर्किने समय सकिने छ । सधैंभरि चरित्रमाथि प्रश्न उठिरहने छ ।