काठमाडौं । झापामा सहकारीमार्फत ७० अर्ब रुपैयाँभन्दा बढी पुँजी परिचालन भएको छ ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसंख्या सहकारी अभियानसँग जोडिएको छ ।
“सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ”, उनले भने, “यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”
सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दूध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले बताए ।
पछिल्लो समयमा झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ । सहकारीबाट लिएको ऋण तिर्न आनाकानी गर्दा सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो ।
अध्यक्ष ढकालले भने, “ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने देखिन्छ, यसमा राज्यको सहयोग अपरिहार्य छ ।”
झापामा आठ सय दुई सहकारी दर्ता भएकामा ५८ वटा खारेज भएका छन् ।
झापा जिल्ला सहकारी संघमा ४९२ सहकारी संस्था आबद्ध छन् । यसमा बहुउद्देश्यीय ७४, बचत तथा ऋण एक सय ९३, कृषि सहकारी एक सय ९३, दुग्ध र सुपारी ६÷६, चिया र उपभोक्ता चार–चार, विविध आठ र संघ चार आबद्ध रहेको सचिव दङ्गालले बताए ।