ताइवान विवाद बढ्दै, अमेरिकालाई हदमा रहन चीनको चेतावनी-Sutra News

ताइवान विवाद बढ्दै, अमेरिकालाई हदमा रहन चीनको चेतावनी

बिहिबार, २६ पौस २०८०

बिहिबार, २६ पौस २०८०

काठमाडाैं । वासिङ्टनले यसै साता हुने निर्वाचनपछि ताइवानमा एक प्रतिनिधिमण्डल पठाउने बताएपछि चीनले स्वशासित ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएकाे छ ।



चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति नपुगोस् भनेर वासिङ्टनले ताइवान क्षेत्रको चुनावमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न चेतावनी दिए ।

वासिङ्टनले स्वशासित टापूमा महत्वपूर्ण निर्वाचनपछि ताइवानमा ‘अनौपचारिक’ प्रतिनिधिमण्डल पठाउने घोषणा गरेपछि उनले भने, “चीनले अमेरिका र ताइवानबीच कुनै पनि प्रकारको आधिकारिक आदानप्रदानको कडा विरोध गर्दछ ।”

ताइवान चीनको अविभाज्य अङ्ग भएकाे उनकाे भनाइ छ ।

माओले बेइजिङसँग चुनावलाई लिएर तनाव नबढाउन अमेरिकाले दिएको चेतावनीको पनि विरोध गरेका छन् । उनले भने, “ताइवान क्षेत्रको निर्वाचनलाई लिएर अमेरिकी पक्षले गरेको अनावश्यक तामझामप्रति चीन कडा असन्तुष्टि र विरोध जनाउँछ ।”

चीनले यसअघि भएका सम्झाैतालाई हेक्का राख्न अमेरिकालाई चेतावनी दिएकाे छ । उनले भनेका छन्, “हामी अमेरिकी पक्षसँग दुई देशका नेताले गरेका प्रतिबद्धता पूरा गर्न व्यवहारिक कदम चाल्न आग्रह गर्दछौँ ।” एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट