काठमाडाैं । शिवम् सिमेन्ट लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष (आव) २०७९/०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।
आव २०७९/०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम बापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्ब ४० करोडको १४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको बोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु. ३ करोड ३० लाख नगद लाभांससहित आफ्ना शेयरवालाहरूलाई कुल जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
हाल कम्पनीको अधिकृत पूँजी ७ अर्ब र जारी तथा चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा वृद्धि भई ५ अर्ब २ करोड ७० लाख रुपैयाँ कायम हुनेछ ।