पार्टीभित्र चरम विवादपछि लिङ्देनले देखाए प्रदेश संसदीय दललाई-Sutra News

पार्टीभित्र चरम विवादपछि लिङ्देनले देखाए प्रदेश संसदीय दललाई

शुक्रबार, २७ पौस २०८०

शुक्रबार, २७ पौस २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विवादबारे मुख खोलेका छन् । कोशीमा पार्टी निर्णय विपरित सभामुख लिएपछि सुरु भएको विवादबारे लिङ्देनले आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।



लिङ्देनले आफू जोगिन सबै निर्णय प्रदेश संसदीय दलले गरेको बताएका छन् । प्रदेशको निर्णयमा केन्द्रको कुनै हस्तक्षेप वा भूमिका नरहेको उनको दाबी छ ।

‘“कोशीमा मात्र सभामुखमा हामी सहभागी भएको होइन, योभन्दा अघि बागमती र लुम्बिनीमा उपसभामुखमा हाम्रो सहभागीता छ, यो नौलो कुरा भएन”, शुक्रबार पृथ्वी जयन्तीका अवसरमा भृकुटीमण्डमा भएको जलपान समारोहमा पत्रकारहरूसँग कुराकानी गर्दै लिङ्देनले भनेका छन्, “परिवर्तित सन्दर्भमा अहिले कोशीमा सभामुख लिने कि नलिने छलफलकै विषय थियो, हतार गर्न हुन्न भन्ने हाम्रो सहमति थियो, म देश बाहिर भएका बेला कोशीका साथीहरूले निर्णय गरेर सहभागी हुनुभयो।”

पार्टीभित्र देखिएको विवादलाई बैठकबाट हल गरेर जाने उनले बताएका छन् । “एकथरि साथीहरूले कोशीमा सभामुखमा लिन हुँदैनथ्यो, तुरून्त फिर्ता हुनुपर्छ भन्नुभएको छ, अर्को थरि अन्यत्र पनि सहभागि छौं, किन लिन नहुने भन्नुभएको छ”, उनले भनेका छन्, “केन्द्रीय समिति बैठकले यस विषयमा उचित निर्णय गर्छ ।”

हालै बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कोशीमा सभामुख नलिने निर्णय गरेको थियो । तर, राप्रपाका प्रदेश सांसद अम्मरबहादुर विष्ट गत पुस २४ मा कोशीको सभामुख बने । पार्टी निर्णय विपरित विष्ट सभामुख बनेपछि राप्रपामा विवाद देखिएको छ ।

नेताहरुले कोशीको विषय नसच्याए पार्टी अध्यक्षलाई नै कारबाही गरेर जानेसमेत बताउन थालेका छन् ।

यद्यपि, अध्यक्ष लिङ्देनले भने प्रदेश संसदीय दललाई देखाएर पन्छिन खोजेका छन् । नेताहरु राप्रपाभित्र प्रदेशले निर्णय लिने अभ्यास भइनसकेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट