काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको संख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी कूल ८६ लाख ९१ हजार ४४३ यात्रुले हवाईयात्रा गरेका छन् ।
सन् २०२२ मा ७९ लाख ५४ हजार ४९५ ले हवाईयात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । कूल यात्रु आवागमन (आन्तरिक र अन्तर्राष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ ।
कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार ९१२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए । विमानस्थलबाट एक वर्षको अवधिमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार १३७ ले हवाईयात्रा गरेका छन् ।
महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी भएको बताउँदै कूल यात्रु आगमन पनि बढेको जानकारी दिए । कोभिड पहिलाको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा नौ दशमलव दुई प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।
नेपालले ४१ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लो पटक गत मंसिर १९ गते नेपाल र रुवाण्डाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।