दुई दिन नारायणगढ-मुग्लिन सडक खुला रहने-Sutra News

दुई दिन नारायणगढ-मुग्लिन सडक खुला रहने

आइतबार, २९ पौस २०८०

आइतबार, २९ पौस २०८०

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा दुई दिन खुल्ने भएको छ । देवघाटधाममा लाग्ने माघेंक्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी तथा इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।



गत पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । यस सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकाले दिउँसोको समयमा सडक बन्द गरेर काम गरिएको हो । जिल्लाको सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्न अनुमति दिएको थियो ।

गत साल कडा चट्टान फोर्न नसकिएपछि विस्फोट गर्न काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरिएकाले कामले गति लिएको र अझै ढिस्को फोर्न तीन साता लाग्ने आयोजनाको अनुमान छ । सोहीअनुसार जिल्ला सुरक्षा समितिले तीन सातासम्म म्याद थप गरेको थियो ।

आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिक ज्याक हेम्मर प्रयोग गरेर काम गरिएको छ । गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएकाले काम गर्न असहज भएको थियो ।

सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको र बाँकी १५ पुलका लागि एकैसाथ ठेक्का लगाइएकामा विं.सं. २०७६ चैत १० गतेदेखि सो पुलको निर्माण थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट