मोबाइलबाटै १० हजारदेखि २ लाखसम्म बैंक ॠण, कसरी लिने ?-Sutra News

मोबाइलबाटै १० हजारदेखि २ लाखसम्म बैंक ॠण, कसरी लिने ?

आइतबार, २९ पौस २०८०

आइतबार, २९ पौस २०८०

काठमाडाैं पछिल्लो समय डिजिटल अर्थतन्त्रको बारेमा बहस तथा छलफल धेरै हुने गरेको छ । खासगरी कोभिड-१९ को विश्वव्यापी महामारीसँगै डिजिटल कारोबारको दायरा नेपालमा पनि अझै फराकिलो बन्दै गएको थियाे । पछिल्लो समय नेपालको बैंकिङ क्षेत्र पनि डिजिटलमैत्री बन्दै गएको छ । उपलब्ध प्रविधिको उच्चतम् प्रयोग गर्दै अत्यावश्यक बाहेकका अवस्थामा बैंकमा नगईकन धेरै सुविधा तपाईं हामीले प्रयोग गर्न सक्ने अवस्था सिर्जना भैसकेको छ । 



आफ्नो पैसा खातामा जम्मा गर्न, अरुलाई ट्रान्सफर गर्न, विभिन्न वस्तुको सेवा वा भुक्तानीदेखि रिचार्ज मात्रै होइन सरकारी सेवा प्रयोगको शुल्क बुझाउनेदेखि टेलिभिजन, इन्टरनेट शुल्क पनि अहिले मोबाइल मार्फत नै तिर्न सकिने सुविधा बैंकहरूले उपलब्ध गराइरहेका छन् । 

बिग मर्जर मार्फत ठूलो चुक्ता पुँजीसहित व्यवसाय र यसका दायरा समेत विस्तार गर्नुपर्ने दबाबमा रहेका वाणिज्य बैंकहरूले अहिले ग्राहकको दैनिक जीवनलाई सहज बनाउने गरी मोबाइलबाटै फोन लोन उपलब्ध गराउन थालेका छन् । सुरुमा केही बैंकले मात्रै थालेको यो सुविधा अब थप केही बैंकबाट पनि पाउन सुरु भएको छ । 

तत्कालको समस्या टार्ने हेतुले ल्याएको फोन लोन अहिले धेरैका लागि सहजै पैसा पाइने उपयुक्त माध्यमको रूपमा विकास हुन थालेको छ । केही कागजात पनि बुझाउन नपर्ने र मोबाइलबाटै अप्लाई गरेकै भरमा न्यूनतम ब्याजदरमै लोन अप्रुभ हुने हुँदा ग्राहक पनि यसबाट लाभान्वित भएका छन् । सहज फोन कर्जाले धेरैको आकस्मिक समस्या समाधान गर्न निकै सहज हुने गरेको यो सुविधा लिएकाहरूको अनुभव छ । 

हालसम्म एभरेष्ट बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र एनएमबी बैंकले फोन लोन सेवा सञ्चालनमा ल्याएका छन भने अन्य केही बैंकले पनि निकट भविष्यमै यो सेवा सञ्चालन गर्ने तयारी गरिरहेका छन् । यो सेवा सञ्चालनमा ल्याएका बैंकहरूको मोबाइल एपबाट कर्जा लिन सकिन्छ । कर्जा लिन योग्य ग्राहकले मोबाइल बैंकिङ एपमा लगइन गरि मोबाइल बैंकिङ एपमै उपलब्ध फोन लोनमा दर्ता सम्पन्न गरि कर्जाको प्रक्रिया अगाडि बढाउन सकिने सुविधा छ । 

बैंकले इमेलमा भेरिफिकेसन म्यासेज पठाएपछि उक्त म्यासेजलाई प्रयोगकर्ताले लिंक गरि सक्केसफुल अप्सन क्लिक गरेपछि लोन अप्रुभ हुन्छ । तर, फोन लोन ग्राहकले चाहेजति रकम भने भर्न पाउँदैनन् ।

फोन लोनका लागि ग्राहकले आफ्नै मोबाइल एपबाट अप्लाई गरेपछि कुन व्यक्तिलाई कति लोन दिने भन्ने कुरा ग्राहकको कारोबारको आधारमा सिस्टमले तय गर्ने बैंकका अधिकारीहरूको भनाइ छ । चार वटा बैंकले फोन लोन सेवा सञ्चालनमा ल्याएका भएपनि सबैका आ-आफ्नै विशेषता छन् । एभरेष्ट बैंकले सञ्चालन गरेको फोन लोन सेवा तलबी खाता भएकाहरूको लागि लक्षित गरेको छ । साधारण बचत कर्ताहरूलाई भने फोन लोन सेवा उपलब्ध गराएको छैन । 

यस्तै नबिल बैंकले सञ्चालन गरेको फोन लोन सेवा लिनको लागि पछिल्लो ६ महिनादेखि गरेको कारोबारको आधारमा फोन लोन सेवा साधारण ग्राहकहरूले प्राप्त गर्दा नबिल बैंकको क्युआर लिएर कारोबार गरिरहेका व्यवसायीले पनि यस्तो कर्जा पाउने व्यवस्था गरेको छ । यस्तै, एनआईसी एशिया बैंकले सञ्चालन गरेको फोन लोन सेवा लिन मोबाइल एपमार्फत विना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रूपमा उपस्थित नभई अधिकतम २ लाखसम्मको फोन लोन सेवा लिन सक्नेछन् । बैंकका खातावालाले एक महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा समेत कर्जा प्राप्त गर्न सक्ने छन् । 

एनआईसी एशिया बैंकमा खाता रहेका तलबी बचत खाता, नियमित कारोबार एवं बैंकमा अन्य कुनै बक्यौता कर्जा नरहेका लगायतका मापदण्ड पूरा गरेपछि यो सेवा उपलब्ध गर्न सक्ने बैंकले जनाएको छ ।

यस्तै एनएमबी बैंकले पनि आफ्ना ग्राहकहरूलाई न्यूनतम १० हजारदेखि २ लाखसम्मको फोन लोन उपलब्ध गराइरहेको छ । एनएमबी बैंकले प्रदान गर्ने फोन लोन दुई वर्षको किस्ताबन्दीमा तिर्न सक्ने सुविधा उपलब्ध गराएको छ । 

फोन लोन सेवा लिने ग्राहकले ब्याजदर फिक्स्ड लिने कि एडजेस्टटेबल लिने ग्राहकले आफैं चयन गर्न सक्ने सुविधा पनि उपलब्ध छ । एनएमबी बैंकले बैंकमा अकाउन्ट होल्डर अर्थात् तलबी खातामा यो सुविधा प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट