प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको जित-Sutra News

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको जित

सोमबार, १ माघ २०८०

सोमबार, १ माघ २०८०

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई १२६ रनको भारी आन्तरले पराजित गरेको छ ।



जितका लागि ३२१ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १९४ रनमा समेटियो । मधेसका लागि पवन सराफले ८३ बलमा सात चौका र तीन छक्कासहित सर्वाधिक ६५ रन बनाए ।

त्यस्तै मयन यादवले ३२ बलमा ६ चौकासहित ३२ बनाए । राजेश यादवले ४८ बलमा ५ चौकासहित ३२ रनमा अविजित रहँदा रुपेश सिंहले १८, विशाल पटेलले १७ तथा हरिशंकर शाहले चार रन बनाए ।

आर्मीका लागि साहब आलमले चार विकेट लिए भने सोमपाल कामीले दुई तथा जितेन्द्र मुखिया र कुशल मल्लले समान एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा ३२० रनको योगफल बनायो ।

आर्मीका लागि विनोद भण्डारीले ९३ बलमा नौ चौका र छ छक्कासहित ११३ रनको शतकीय पारी खेले । यसैगरी सन्तोष कार्कीले ४२, कुशल मल्ल र विवेक यादवले समान ३७, इमरान शेखले २६, भीम सार्कीले १८ तथा बसिर अहमदले १६ रन बनाए ।

आर्मीका लागि पाँचौ विकेटका लागि विनोद र कुशल मल्लले १३२ तथा पहिलो विकेटका लागि सन्तोष र इमरानले ५३ रनको साझेदारी गरेका थिए ।

मधेसका लागि रन्जित कुमारले पाँच विकेट लिए भने विशाल पटेलले दुई तथा राजेश यादव र रुपेश सिंहले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट