काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकताका लागि वार्ता सुरु हुँदै गर्दा माओवादी केन्द्रभित्र पार्टीको नाम परिवर्तनको विषयमा छलफल चलेको थियो । नेसपासँगै अन्यको लागि पनि एकताको ढोका खोल्न भन्दै माओवादी केन्द्रले पदाधिकारी बैठक नै राखेर नाम परिवर्तन गर्न सकिने निर्णय गरेको थियो ।
गत भदौ २५ मा बसेको पदाधिकारी बैठकपछि जारी चार बुँदे परिपत्रमा कोष्ठकमा रहेको ‘माओवादी केन्द्र’को नामबारे आवश्यक निर्णय लिन सकिने उल्लेख छ । परिपत्रमा बताइएअनुसार महाधिवेशनबाट नाम परिवर्तनको निर्णय लिइनेछ ।
“नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठकमा रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ”, पार्टी अध्यक्ष र महासचिवद्वारा जारी परिपत्रमा उल्लेख छ ।
यद्यपि, माओवादीभित्र यो पहिलो पटक भने नाम परिवर्तनबारे छलफल भएको होइन । यसअघि पनि पटक–पटक माओवादीले पार्टीको नाम परिवर्तन गरिसकेको छ ।
पार्टीको नेतृत्वमा प्रचण्ड आएदेखि एकता केन्द्र, नेकपा (माओवादी) हुँदै एकीकृत नेकपा (माओवादी), माओवादी केन्द्र बनाइएको हो । तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाइएको थियो । तर, सर्वोच्च अदालतबाट नेकपालाई विघटन गरिदिएसँगै पुनः पार्टी पुनर्गठन गर्दै माओवादी केन्द्र बनाइएको हो ।
पुनर्गठन लगत्तै पनि माओवादी केन्द्रभित्र छिटफुटरुपमा पार्टीको नाम परिवर्तनको चर्चा चलेको थियो । तत्कालिन समय एमालेबाट छुट्टिएको माधव कुमार नेपाल नेतृत्वको समूहसँग एकताका लागि नाम परिवर्तनको चर्चा चलेको थियो ।
महाधिवेशनमा सेलाएको उक्त विषय भट्टराई नेतृत्वको नेसपासँग एकताको चर्चापछि थप अगाडि आएको हो । तर, पछिल्लो पटक बसेको स्थायी समितिमा उपमहासचिव जनार्दन शर्माले पुरक प्रस्ताव भन्दै ल्याएपछि थप चर्चामा आएको हो ।
कार्यदलमा आफैं रहेर पूरक प्रस्ताव
माओवादी केन्द्रको पुस पहिलो साता बसेको स्थायी समिति बैठकले सात सदस्यीय विधान मस्यौदा कार्यदल गठन गरेको थियो । उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा गठित कार्यदलमा महासचिव देव गुरुङसहित उपमहासचिवहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की रहेका थिए ।
शनिबार बसेको स्थायी समिति बैठकमा सोही कार्यदलले निर्माण गरेको विधान मस्यौदा २०८० को प्रस्ताव पार्टी अध्यक्ष प्रचण्डले पेश गरेका थिए । तर, स्वयम् कार्यदलमा आबद्ध जनार्दनले भने उक्त प्रस्ताव पेशपछि पूरक प्रस्ताव भन्दै बेग्लै प्रस्ताव पेश गरे ।
माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले बताएअनुसार कार्यदलको प्रस्तावपछि जनार्दनले आफ्नो ‘बेनामे’ पुरक प्रस्ताव अगाडि सारेका थिए । “सबैले विभिन्न प्रस्ताव राख्नुभएको थियो, कार्यदलको तर्फबाट सामूहिक प्रस्ताव आएको थियो”, ति नेताले भनेका छन्, “तर, जनार्दन जीले पूरक भन्दै ल्याउनु भयो । अन्तिममा ल्याएको कारण उहाँको प्रस्ताव केही चर्चामा रह्यो । तर, विषय सबै पुरानै हुन् ।”
जनार्दनले नौ बुँदामा ल्याएको पुरक प्रस्तावको एउटा बुँदामा पार्टीको नाम परिवर्तनको प्रस्ताव छ । जसमा ‘माओवादी केन्द्र’लाई हटाएर ‘समाजवादी’ राख्ने प्रस्ताव गरिएको छ । ती नेताले बताएअनुसार बैठकमा अन्यले पनि उठाएको विषयलाई जनार्दनले पूरक प्रस्तावमार्फत ल्याएका हुन् ।
“नाम परिवर्तनको विषय सामान्य विषय हो, पार्टीले निर्णय गरिसकेको विषय हो, उहाँले पूरक प्रस्ताव भनेर किन ल्याउनु भयो ?”, ति नेताले भनेका छन्, “बाहिर चर्चा भएजस्तो बेग्लै विषय केही होइन ।”
नाममा एकताका लागि प्रस्ताव
जनार्दनले पार्टीको नाम परिवर्तनको प्रस्ताव, अन्य दलसँग एकताको लागि ढोका खोल्न ल्याएको बताएका छन् । तर, उनी स्वयम्को कारण यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगको एकता प्रक्रिया अन्योलमा पुगेको नेताहरु बताउँछन् ।
विशेषगरी जनार्दन र वर्षमान पुनले अवरोध गरेपछि एकता प्रक्रिया अन्योलमा पुगेको नेताहरुले बताएका छन् । विप्लवले आत्माआलोचना गरेमात्रै पार्टीमा भित्र्याउन सकिने अडान जनार्दनले लिएका थिए । साथै, उनले विप्लव महासचिव हुने चर्चालाई ठाडै इन्कार गरिदिएका थिए ।