शेयर बजारमा उछाल : आठ अर्बमाथिको कारोबार, २१४ कम्पनीको मूल्यमा बृद्धि-Sutra News

शेयर बजारमा उछाल : आठ अर्बमाथिको कारोबार, २१४ कम्पनीको मूल्यमा बृद्धि

मंगलबार, २ माघ २०८०

मंगलबार, २ माघ २०८०

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको दोस्रो कारोबार भएको दिन मंगलबार ५४.५४ अंकले बढ्दै बजार २१७५.१७ को बिन्दुमा उक्लिएको छ ।



समग्रमा बजारमा २.५७ प्रतिशतले बृद्धि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

कारोबारमा आएका २४७ कम्पनीमध्ये २१४ कम्पनीको मूल्यमा उत्साहपूर्ण बृद्धि भएको छ भने ३१ कम्पनीको मूल्यमा सामान्य करेक्सन आएको छ । दुई कम्पनीको मूल्य भने स्थिर रह्यो ।

मंगलबार पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो भने १५ कम्पनीको मूल्यमा नौ प्रतिशतभन्दा बढीले बृद्धि भयो ।

उत्साहपूर्ण बढेको बजारमा मंगलबार ज्योति विकास बैंकको बण्ड शेयर र हिमालयनको ८०–२० म्युचुअल फण्डको मूल्यमा नौ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

मंगलबार सर्वाधिक नेप्सेको वित्त सूचांकमा ४.७५ प्रतिशतले बृद्धि भयो भने अधिकांशमा २ प्रतिशत हाराहारीमा बृद्धि भयो । लामो समयपछि बैकिङ्ग क्षेत्रमा पनि उत्साह छाएको देखियो । वाणिज्य बैंक र विकास बैंक सूचांकमा २ प्रतिशतभन्दा बढीको बृद्धि भएको छ ।

केही वर्षयताकै सर्वाधिक कारोबार

शेयर बजारमा केही वर्षयताकै सर्वाधिक कारोबार भएको छ । मंगलबार दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम आठ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँको भयो ।

जुन एक वर्ष यताकै सर्वाधिक कारोबार रकम हो ।

मंगलबार सबैभन्दा धेरै सोनापुर मिनरल्स, निफ्रा, एनआरएनएलगायतका कम्पनीको कारोबार उच्च रह्यो । सोनापुर मिनरल्सको मात्रै मंगलबार पाँच लाख छ हजार बढी कित्ता किनबेच हुँदा कारोबार रकम २८ करोड ३१ लाख ५५ हजार रुपैयाँको भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट